सुदूरपश्चिमको भित्री मधेस क्षेत्रमा पर्छ परशुराम नगरपालिका, जिल्ला हो डडेल्धुरा। नगरपालिकाको अधिकांश क्षेत्र ग्रामीण छ। ग्रामीण छोरीहरू भलिबल खेलमा आफ्नो उज्यालो भविष्यको सपना देख्दै छन्।
खेल्न थालेकाहरूको मुख्य लक्ष्य राष्ट्रिय टिममा पुग्नु र विदेशी भूमिमा आफ्नो देशको झन्डा फहराउनु हो। यस्तो लक्ष्य सजिलो छैन। उनीहरूका सामु अनेक चुनौती छन्।
कडा संघर्षले मात्र चुनौती सामना हुन्छ। उनीहरू चुनौती सामना गर्न संघर्षरत छन्।
वडा नम्बर १, सलङकी १९ वर्षीया वसन्ती खाती यस्तै खेलाडीहरूमध्ये एक हुन्। डडेल्धुराकै कविता भट्ट राष्ट्रिय टिममा भलिबल खेल्छिन्। वसन्ती उनै कविताको खेलबाट प्रभावित छिन्।
भन्छिन्, 'कविता दिदीले हाम्रो देशको लागि खेल्नुभएको छ, आफ्नो प्रतिभा संसारभर देखाउनुभएको छ। म पनि उहाँले जस्तै प्रतिभा देखाउन भलिबलमा लागेकी हुँ।'
उनले भलिबल खेल्न थालेको पाँच वर्ष भयो। खेल अभ्यासका लागि हरेक दिन घरबाट जोगबुडा पुग्छिन्। आउन-जान तीन घन्टा हिँड्नुपर्छ।
भलिबल खेलसँगै उनको ध्यान पढाइमा छ। उनी परशुरामकै जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा पढ्दै छिन्। क्याम्पसको समयपछि जोगबुढामै उनी भलिबल सिक्छिन्, खेल्छिन्।
बिहान क्याम्पस जानु, खान खाना घर फर्किनु र फेरि भलिबल खेल्न जोगबुढा पुग्नु उनको दैनिकीजस्तै हो। यसो गर्दा एक दिनमै ६ घन्टा हिँड्छिन्।
'जंगलको बाटो छ। खेल र पढाइका लागि मनबाट डर निकालेर हिँड्छु। मनमा खेलको जोस छ। हिँड्न अल्छी लाग्दैन, डर पनि लाग्दैन,' उनी भन्छिन्।
वसन्तीले गाउँकै स्कुलमा भलिबल खेल्न सुरू गरेकी थिइन्। अग्लो कदकी उनले स्कुलमा उत्कृष्ट खेलाडीको परिचय बनाइन्। उनले पहिलोपटक राष्ट्रपति रनिङ सिल्डमा स्कुलको टिमबाट भलिबल खेल्न पाइन्। त्यस बेला कक्षा १० मा पढ्दै थिइन्। उनको टिमले दोस्रो स्थान हासिल गर्यो। त्यही प्रतियोगिता उनको खेलयात्राको कोशेढुंगो भयो।
उनले स्कुल, स्थानीय तह र जिल्लाका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेकी छन्। प्रदेशको टिमबाट पनि तीनपटक खेल्ने मौका पाइन्।
'देशका लागि भलिबल खेल्ने धोको छ। राष्ट्रिय टिममा पुग्छु भन्ने आशा छ। राष्ट्रिय टिममा पुग्न मेहनत गर्दै छु,' उनले भनिन्।
यो अठोट कायम राखेर खेललाई निरन्तरता दिन भने सजिलो नभएको उनी बताउँछिन्। 'खेल्ने काम छोरीको होइन' भन्ने सामाजिक मानसिकता मुख्य अवरोध हो। खेल्नु भनेको समय बर्बाद पार्नु हो भन्ने अर्को जबर्जस्त मान्यता पनि भएको उनले बताइन्।
'छोरी मान्छेले खेलेर के हुन्छ र भन्ने समाज छ। यस्तो कुरा सुनिरहनुपर्छ। छोरी मान्छेलाई दबाउने यस्तो आवाजका कारण कतिपय साथीले भलिबल खेल्न छाडे,' उनले भनिन्।
उनी समाजको यस्तो सोचाइ बेवास्ता गर्छिन्। आफूलाई उचित लागेको र आफ्नो रूचिको काम गर्नुपर्छ भन्ने उनको मान्यता छ।
भन्छिन्, 'जसको नजरमा जे छ, उसले त्यही भन्ने हो। म कसैको कुरा वास्ता गर्दिनँ। कसैले भनेको कुरा मनमा लिएर म खेल बिगार्न चाहन्नँ।'
वसन्तीकी आमा घरको काम गर्छिन्। बुबा वैदेशिक रोजगारीमा छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई खेलमा केही कठिनाइ पनि हुने गरेको छ। जेनतेन धानिरहेकी छन्।
परशुराम नगरपालिकाकै अर्की खेलाडी हुन् निरूता ठगुन्ना। उनी हाल ११ कक्षामा पढ्दै छिन्। उनी नेपाली राष्ट्रिय महिला भलिबल टिममा आउटसाइड हिटर हुन्।
उनी गाउँका दाइदिदीहरूले खेलेको देखेर भलिबलमा लागेकी हुन्। खेल्न सुरू गर्दा नौ कक्षामा पढ्थिन्। त्यसै बेला पहिलो प्रतियोगिता खेल्ने अवसर पाइन्। उनले क्षेत्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि आफ्नो प्रतिभा देखाइसकेकी छिन्।
हाल उनी दसौं राष्ट्रिय खेलकुदमा प्रदेशको टिमबाट खेल्न तयारी गर्दैछिन्। दैनिक पाँच घण्टासम्म भलिबल अभ्यास गर्छिन्। खेलमा सहभागी हुन घरबाट राम्रो सहयोग पाएकी छन्।
उनका बुबा परशुराम नगरपालिका, वडा नम्बर ४ का वडा सदस्य छन्। आमा एउटा सहकारी संस्थामा काम गर्छिन्। भाइ र दिदीहरू पढाइमा छन्। परिवारको आर्थिक स्थिति मध्यम छ।
परशुराम नगरपालिकाले महिला र पुरूष भलिबलको आधिकारिक टिम बनाएको छ। यो टिममा निरूता पनि छिन्। स्थानीय तहमा हुने प्रतियोगितामा सहभागी हुन्छिन्।
तीन वर्षअघि खेल्न सुरू गरेकी अर्की खेलाडी छिन् १४ वर्षीया अस्मिता ओखेडा। उनले पनि मेहनत गरेर राष्ट्रिय टिममा पुग्ने सपना देखेकी छन्। उनी निरूताको खेलबाट प्रभावित छिन्।
राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरीलाई आदर्श मान्ने अर्की खेलाडी छिन् सिर्जना दमाई। उनी परशुराम नगरपालिका–४, कटाल निवासी हुन्।
'म सरस्वती दिदीको खेल धेरै हेर्छु। उहाँ मेरो मनमा बस्नुभएको छ। म दिदीजस्तै राष्ट्रिय टिममा पुग्न चाहन्छु,' उनी भन्छिन्।
महिला खेलाडीप्रति समाजको दृष्टिकोण सिर्जनालाई राम्रो लागेको छैन।
'छोरीमान्छे खेलाडी हुन सजिलो छैन। खेल्दा छोटो लुगा लगाउनुपर्छ। यसमा पनि मान्छेले कुरा काट्छन्,' उनी भन्छिन्, 'तर परिवारको सहयोग भएपछि सजिलो हुँदो रहेछ। अरूले जे भने पनि फरक पर्दैन। म राष्ट्रिय टिममा पुगेर देशको नाम चम्काउन चाहन्छु।'
सिर्जनाका आमाबुबा रोजगारीका लागि भारतमा छन्। घरमा सिर्जना, एक बहिनी र एक भाइ छन्। छोराछोरीमा सबैभन्दा ठूली भएकीले उनको जिम्मेवारी पनि बढी छ। एक बहिनी आमाबुबासँगै भारतमा छिन्।
उनलाई खेल्ने अवसर आइरहन्छ तर सबैतिर जान सक्दिनन्। उनलाई टिसर्ट, हाफ पाइन्ट, जुत्ता लगायत व्यक्तिगत सामग्री र पैसाको अभाव भइरहन्छ।
उनी भन्छिन्, 'आमाबुबाले मेरा लागि धेरै गर्नुभएको छ तर पनि खेल्न बोलाएका जति ठाउँमा जान सक्दिनँ। घरमा भाइबहिनी पनि हेर्नुपर्छ।'
उनले सुदूरपश्चिमको टिमबाट प्रदेशस्तरीय चारवटा प्रतियोगिता खेलेकी छन्। वडा, गाउँपालिका, नगरपालिका र जिल्लास्तरमा धेरै खेलेकी छन्। उनी टिममा स्पाइकरको भूमिकामा हुन्छिन्। राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने अवसरका लागि उनी प्रयासरत छिन्।
गत वर्ष परशुराम नगरपालिकाले आयोजना गरेको मेयर-उपमेयर कपको महिला भलिबलमा उनी उत्कृष्ट खेलाडी घोषित भइन्।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक लक्ष्मण मडैका अनुसार सिर्जना बलियो सट प्रहार गर्न सक्छिन्। उनले भलिबलमा निकै राम्रो गर्न सक्ने लक्ष्मणको विश्वास छ।
लक्ष्मणले जोगबुढामा भित्री मधेस भलिबल एकता प्रशिक्षण केन्द्र चलाएका छन्। उनी शिक्षण पेसामा पनि छन्। भलिबल खेलमा उनको लामो अनुभव छ। उनले सुदूरपश्चिमका धेरै भलिबल खेलाडीलाई प्रशिक्षण दिएका छन्। महिला भलिबल टिम विकासमा उनको विशेष जोड छ।
परशुराम नगरपालिकाले भलिबलमा महिला र पुरूष दुवैतर्फ आधिकारिक टिम घोषणा गरेपछि खेलाडीहरू उत्साही भएका छन्। नगरप्रमुख भरत बडायर जोशीका अनुसार टिममा परेका खेलाडीलाई पढाइमा छात्रवृत्ति दिने नगरपालिकाको योजना छ। वर्षभरिमा समय मिलाएर बढीभन्दा बढी प्रतियोगिता आयोजना गर्ने नीतिअनुसार टिम बनाएको उनको भनाइ छ।
जिल्लास्तर र प्रदेशस्तरमा हुने प्रतियोगितामा नगरपालिकाको टिम सहभागी गराउने उनले बताए।
नगरपालिकाले गत साउनमा सिर्जनालाई १५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको थियो। नगरपालिकाको टिममा परेपछि अभ्यास र प्रशिक्षणमा सहज भएको सिर्जनाको अनुभव छ।
'नगरपालिकाले खेलमा राम्रो काम सुरू गरेको छ तैपनि केही समस्या आइरहन्छ। कहिलेकाहीँ बल र नेटको अभाव हुन्छ,' उनी भन्छिन्, 'नगरपालिकाबाट प्रशिक्षक पनि राखेर सिकाउने हो भने अझै राम्रो हुने थियो।'
सिर्जना नेपाली सेनामा भर्ना भएर काम गर्न र खेल्न चाहन्छिन्।
'पैसा भएको भएर राम्रो विषय लिएर पढ्थेँ होला तर घरको अवस्था हेरेर सामान्य विषय पढेँ,' उनी भन्छिन्, 'भलिबल खेल्दै आर्मी (सैनिक) बन्ने धोको छ।'
वसन्ती, अस्मिता र सिर्जना जस्तै यहाँका धेरै खेलाडी छोरीहरूले 'देशका लागि' खेल्ने सपना देखेका छन्।
राष्ट्रिय महिला भलिबल टिममा पुग्न परशुराम नगरपालिकाका मात्र होइन, सुदूरपश्चिमका नौवटै जिल्ला खेलाडीहरू मेहनत गर्दै छन्।