लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्ने बताएका छन्।
मंगलबार तुलसीपुर उपमहानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन पछि अमर माध्यमिक विद्यालय उरहरीमा सम्बोधन गर्दै उनले खेलकुदले युवालाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको चर्चा गरे।
मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रवर्द्धनसँग जोडेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना प्रदेश सरकारले अघि सारिएको बताएका थिए। खेल पर्यटनका साथै आर्थिक समृद्धिको आधार तयार पार्ने हुँदा प्रदेश सरकारले खेलकुदको विकासमा थप महत्व दिने आश्वासन दिए।
‘खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘खेल प्रतिको आकर्षण कायम राख्न पूर्वाधार विकास थप गर्ने प्राथमिकतामा छ।’
मुख्यमन्त्री आचार्यले खेलाडीको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार गर्ने कार्यमा प्रदेश सरकार लागि परेको बताए। पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि रा नियमित प्रतियोगिताको आयोजनाका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको जानकारी दिए।
खेलकुद क्षेत्रले केवल शारिरीक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याउने विश्वास भन्दै उनले नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरू आउने गरेको चर्चा गरे।