हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोएललाई ९३-८७ ले पराजित गरेको छ ।
यस खेलपछि लिग चरणका सबै ३० खेल सकिएका छन् । अब फाइनल र तेस्रो स्थानका लागि भिड्ने टिमको समिकरण तयार भएको छ ।
यस जितले कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग खेल्नेछ । शीर्ष दुईमा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले फाइनल खेल्नेछ ।
लिगमा १० खेलबाट कीर्तिपुर र रोएलले समान १३ अंक जोडेपनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो । यसअघि लिगमा रोएलले कीर्तिपुरले ९९-९६ अंकले पराजित गरेको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोएल विरुद्ध पहिलो क्वाटरमा २७-२२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर रोएलले २२-२१ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म कीर्तिपुर ४८-४४ ले अघि रह्यो । तेस्रो क्वाटर २७-२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५-६५ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वाटर रोएलले २२-१८ ले आफ्नो पक्षमा पारेको थियो । तर कीर्तिपुरलाई जितबाट रोक्न सकेन ।
कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
रोएलका लागि प्रसाङ मास्केले सर्वाधिक ३४ अंक जोडेपनि जितका लागि पर्याप्त भएन । कीर्तिपुरका सयुन राईले २६ अंक स्कोर गरे ।
फाइनल खेल र तेस्रो स्थानका लागि प्लेअफ खेल आगामी असार ७ गते हुने नेपाल बास्केटबल संघले जनाएको छ ।