टप स्पिन टेबलटेनिस गुड्स नेपाल र पहिलो सिजनको विजेता एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को पहिलो दिन आइतबार पहिलो चरणको खेल समाप्तिमा दुवैले समान १०–१० अंक जोडेका छन्।
आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र द ड्रागन्स टेबलटेनिस क्लबको समान ९–९ अंक छ। भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ८ तथा कीर्तिपुर नगरपालिकाले ७ अंक जोडे।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी र ओल्ड हाउस रेस्ट्रोले समान ६–६ अंक तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ५–५ अंक बटुलेका छन्।
प्रतियोगिताको बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे।
नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा १० टिम सहभागी छन्। विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५–७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।