देशको वर्तमान परिस्थितिका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित बनेका छन्।
गत भदौ २३ र २४ गते देशभर चर्किएको जेनजी आन्दोलन र त्यसपछि भएको तोडफोड तथा आगजनकी कारण खेलकुद प्रतियोगिता पनि प्रभावित बनेका हुन्।
सबैभन्दा पहिला प्रभावित हुने खेल गत भदौ २४ का लागि नेपाल र बंगलादेशबीच फिफा अन्तर्राष्ट्रिय फुटबल खेल बन्यो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको सुरक्षा चुनौतीका कारण उक्त खेल रद्द गरेको थियो।
यो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएका बंगलादेशका खेलाडी निर्धारित समयभन्दा एक दिन ढिला स्वदेश फर्किएका थिए। उनीहरू गत बिहीबार बंगलादेशी सेनाको विशेष विमानबाट ढाका गएका थिए।
आन्दोलनका कारण एन्फाको घरेलु फुटबल तालिका पनि प्रभावित बन्यो। एन्फाले यू-१६ लिग, राष्ट्रिय महिला लिग र रेफ्री/कोचिङ कोर्ष स्थगित गर्यो।
यता नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरबाट सुरू गरेको नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुर पनि आन्दोलनका कारण स्थगित गरेको थियो। आन्दोलनकै कारण आगमी महिला युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको तयारीमा पनि असर गर्यो।
आन्दोलनका कारण प्रशिक्षण हुन नसकेपछि खेलाडीहरू सामाजिक काममा जुटेका थिए। क्रिकेट टोलीका कप्तान रोहित पौडलसहितका खेलाडी सरसफाइमा जुटेका थिए।
यस्तै पोखरामा तय भएका दुई वटा ठूला खेलकुदका कार्यक्रममा पनि आन्दोनलका कारण स्थगित भयो। एभरेष्ट महिला भलिबल लिग ९ खेल सकिएपछि स्थगित भयो। लिगका ६ र फाइनल गरी ७ खेल बाँकी छन्।
यो पटक पोखरामा आयोजना गर्ने तय भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको कार्यक्रम पनि स्थगित गरियो। अवार्ड भदौ २९ गर्ने तय थियो।
यता सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स आउटडोर भलिबल लिग पनि स्थगित भयो। यो प्रतियोगिता दुई महिनापछि अर्थात् कात्तिक २९ देखि हुने तय भए पनि काभाको बोर्ड बैठकले नेपालको परिस्थितका करण लिग स्थगित गरेको जनाएको छ।
यस्तै असोज ३ का लागि तय भएको नेपालगन्ज १० के नाइट रन स्थगित गरिएको छ।
यो बीचमा नेपालको दुई वटा उमेर समूहका फुटबल टोलीले भने प्रतियोगितामा सहभागी भए। नेपालमा आन्दोलन चलिरहदा नेपालले ताजकिस्तानमा एएफसी यू-२३ एसिया कपको छनोटको खेल खेलेको थियो। खराब प्रदर्शन गरेको नेपाली टोली छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको थियो।
यस्तै साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली शनिबार श्रीलंका गएको छ।
आन्दोलनका कारण खेलकुदका संरचनामा भने कुनै क्षति भएको छैन। यद्यपी आन्दोलनका कारणमा निधन भएकामध्ये एक जना क्रिकेट खेलाडी पनि रहेका छन्। क्यानका अनुसार बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठ निधन भएको हो।
स्थगित भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता
• आगामी कात्तिक २९ देखि नेपालमा हुने तय भएको काभा वुमन्स आउटडोर भलिबल लिग स्थगित
• असोज ३ का लागि तय भएको नेपालगन्ज १० के नाइट रन स्थगित
• पोखरामा सञ्चालन रहेको अवस्थामा एभरेष्ट महिला भलिबल लिग स्थगित। लिग चरणका ९ खेल सकिएको अवस्था लिगले भदौ २६ गते स्थगित गर्ने निर्णय गरेको थियो। लिगका फाइनलसहित ७ खेल बाँकी थिए।
• पोखरामा भदौ २९ का लागि तय भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित
• नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भदौ २४ का लागि तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण रद्द
• एन्फा यू-१६ र राष्ट्रिय महिला लिग छनोट र एन्फा रेफ्री/कोचिङ कोर्ष स्थगित
• नेपाल प्रिमियर लिगको ट्रफी टुर स्थगित