नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरू भएको छ।
लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा गण्डकी प्रदेश र न्यू-डायमण्ड एकेडेमी काठमाडौंले विजयी सुरूआत गरेका हुन्।
शनिबार बिहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङ्सिल बोर्डिङ स्कुल काठमाडौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गर्यो।
त्यसैगरी दोस्रो खेलमा न्यू-डायमण्ड एकेडेमीले चितवन टाईगर्स क्लबलाई २५-१४, २५-२०, २५-१४ को सोझो सेटमा पराजित गरेको छ।
न्यू डायमण्डबाट सिपोरा गुरुङ मैदान उत्रिएकी थिइन्।
राष्ट्रिय खेलाडी गुरुङ खुट्टामा चोट लागेका कारण केही वर्षदेखि मैदान उत्रिएकी थिइनन्।
दुई खेल वर्षाका कारण स्थगित भएको छ।
गण्डकी प्रदेशविरूद्ध श्रीराम खेलकुद विकास समिति दाङ बीच खेल जारी रहँदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसँगै तेस्रो सेटमा वर्षाका कारण खेल स्थगित भएको हो।
आजै हुने भनिएको अन्तिम खेल न्यू-डायमण्डविरूद्ध नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको हो।
स्थगित खेल आइतबार बिहान ७ बजेपछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुशील कुमार श्रेष्ठले बताए।
सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले गरेका हुन्।
प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए।