माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ। 
सोमबार भएको आफ्नो जित निकाल्ने क्रममा पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। 
पुलिसले पहिलो सेट २५-१६ ले सहज रुपमा आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा पुलिस २५-२० ले विजयी भयो। 
तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको पुलिसले २५-२१ ले जित निकालेपछि ३-० को सेटमा विजयी भयो। 
नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। 
प्रतियोगितामा पुलिसले तेस्रो खेलमा मंगलबार ताजकिस्तानको भिसिडीसँग प्रतिस्पर्धा गर्नेछ। 
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता छ।