सिंगापुरमा जन्मिएर उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन्।
जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन्।
करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भएकी हुन्। क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे।
ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन्। उनको बुवा सिंगापुर प्रहरी भएकोले उनको बाल्यकाल सिंगापुरमै बित्यो।
उनले सिंगापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए।
पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन्।
५ फिट ८ इन्च अग्ली उनी आउटसाइड हिटर खेल्छिन ।
ज्याक्युशाको आगमनसँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ। क्लबले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केही दिनमा सार्वाजनिक गर्नेछ।