दमकमा शुक्रबार नेपाली लोक रक ब्याण्ड नेपथ्यले आफ्नाे सांगीतिक प्रस्तुति दिएकाे छ। दमक महोत्सव पनि आयोजना भइरहेको भए पनि यस कन्सर्टमा उपस्थिति जनाउन ठूलाे संख्यामा स्थानीयहरू सरस्वती माविको प्रांगणमा भेला भएका थिए।
स्थानीयस्तरमा आयोजना हुने फुटबल प्रतियोगीताको आयोजनास्थलका रुपमा चिनिएको यस प्रांगणमा झण्डै पाँच हजार दर्शक नेपथ्यलाई सुन्न अातुर देखिन्थे।
कन्सर्टको सुरुवात नेपथ्यका दुईवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो। छिमेककै पहाडी सहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले बाल्यकालमै यसै भेगमा सिर्जना गरेको गीत हो ‘सम्झीराख’ पहिलोपटक यसरी प्रस्तुत गरिएको हो।
म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए।
यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए।
कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो।
सहरका अधिकांश जनसंख्या निकट भविष्यमै बन्ने वाम सरकारको प्रतिक्षामा बसेको महशुस यहाँ जताततै चलिरहेको छ। त्यसैले कन्सर्टको अन्त्यतिर भावी प्रधानमन्त्री ओलीले अबको नेपाललाई स्थिर सरकार दिएर समुन्नतीतर्फ लैजाने शुभकामना नेपथ्यका गायक अमृत गुरुङले दिँदा दर्शक दीर्घाले ठूलो ताली र हल्लाका साथ समर्थन जनाएका थिए।
गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्दै आएका डा. गोविन्द केसीको पक्षमा सबैतिरबाट जनमत प्रकट गर्ने यो महत्वपूर्ण क्षण रहेको उल्लेख गरेका थिए। कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितिसँग नजिक्याउने गीत पनि गाइएको थियो।
कार्यक्रम हेर्नका निम्ति दमकका स्थानीयसहित पूर्वाञ्चलकै फरक फरक भेगका दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो ।स्थानीय युवाहरुको समूह थ्री इन्क भिजन, जय मिडिया र पुर्वाञ्चल रक्सले दमकमा नेपथ्यलाई प्रस्तुत गरेको हो।
मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत हुनेछ।