अभिनेता तथा निर्देशक निखिल उप्रेती फिल्म 'आचार्य' को छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार उनीसहितको निर्माण टोली काठमाडौंबाट पश्चिम बंगालका लागि प्रस्थान गरेको हो।
'भैरव' बाट निर्देशनमा डेब्यु गरेको करिब एक दशकपछि निखिलले निर्देशनमा पुनरागमन गर्न लागेको यो फिल्मलाई उनको 'ड्रिम प्रोजेक्ट' बताइएको छ।
काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको टोलीमा निर्देशक तथा अभिनेता निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती र छायांकार मनु बिके, कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी लगायत छन्।
यही भदौ ६ गते शुक्रबारबाट भारतको प्रसिद्ध पर्यटकीय स्थल 'डुअर्स' बाट फिल्मको छायांकन सुरू हुने जनाइएको छ।
पहिलो चरणको छायांकन डुअर्सबाट सुरू भई सोही चरणमा बागडोगरा, सिलिगुडी र ठाकुरगञ्जमा पनि गरिनेछ। निर्देशक निखिल उप्रेतीका अनुसार फिल्मको छायांकन तीन चरणमा हुनेछ।
पहिलो चरण भारतको पश्चिम बंगालमा, दोस्रो चरण मुम्बई, नासिक र झारखण्डमा तथा तेस्रो चरण नेपालमा खिचिनेछ। फिल्मको सम्पूर्ण छायांकन ६० दिनभित्र सक्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
यो फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारहरूमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायत छन्। फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ। यसबारे निखिलले ‘आचार्य’ सँग जोडिएका केही आश्चर्यजनक कुराहरू समयसँगै सार्वजनिक गर्दै जाने बताएका छन्।
उनले 'आचार्य' लाई एक विश्वस्तरीय एक्सन फिल्मको रूपमा निर्माण गर्न लागेको बताएका छन्।
यही फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलल कोरियोग्राफीमा पनि पाइला चाल्दैछिन्। उनले फिल्मको नेपाली र हिन्दी संस्करणमा समावेश हुने एक गीतको कोरियोग्राफी गर्ने जनाइएको छ।