सुनिता खनालको कवितासंग्रह ‘ओ नायक!’ सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा आयोजित कार्यक्रममा कवि श्यामल, श्रवण मुकारुङ, मोमिला र कवि खनालकी आमाले संयुक्त रुपमा संग्रहको विमोचन गरेका हुन्।
संग्रहमाथि बोल्दै कवि मोमिलाले सुनिता खनालका कविता शक्तिशाली भएको बताइन्। नयाँ पुस्ताका कविहरूमा सुनिताका कविता अब्बल रहेको भन्दै माेमिलाले प्रशंसा गरिन्।
कार्यक्रममा कवि खनालले आफ्ना स्वर्गीय बुवालाई सम्झिँदै कविता लेखनको पृष्ठभूमि सुनाइन्। उनले कार्यक्रममा ‘ओ नायक’, ‘आगोको ठेगाना’, ‘दुईटा पृथ्वी’, ‘पातमा प्रेम’ लगायत कविता वाचन गरेकी थिइन्।
त्यस्तै यही कार्यक्रमको पहिलो सत्रमा ‘आजका कविता’ विषयमा कविहरू श्यामल र मुकारुङबीच अन्तरक्रिया गरेका थिए। श्यामलले अहिले लेखिएका कवितामाथि नै शंका गर्नुपर्ने धारणा राख्दै काठमाडौंमा बसेर जुम्लाको कविता लेखिने प्रवृत्तिको विरोध गरे। कविले आफू बाँचेको समयलाई विम्बित गर्नुपर्ने भन्दै उनले कविताको सत्यतामाथि नै प्रश्न गरेका थिए।
श्यामलको टिप्पणीमाथि प्रतिवाद गर्दै मुकारुङले पहिलेका कविता सोही समयमा सान्दर्भिक हुने भएकाले अहिलेका कवितासँग तुलना गर्न नमिल्ने तर्क राखे। पुराना कविहरू नयाँ पुस्ताका सिर्जनाबाट सन्तुष्ट हुन नसक्नु स्वाभाविक भएको उनको भनाइ थियो। मुकारुङले भने, ‘एउटा कविता तयार हुन ४० वर्षसम्म पनि लाग्न सक्छ।’
कवितासंग्रह ‘अाे नायक’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो।