प्रख्यात पियानोबादक उपेन्द्रलाल सिंहले सांगीतिक धुनहरुको एल्बम नोस्टाल्जिया–२ संगीतप्रेमीलाई समपर्ण गरेका छन् । उनको एल्बम र नोटेशन बुकको संगीतकारहरु शुभबहादुर सुनाम र नोर्बु छिरिङले काठमाडौंमा हालै बिमोचन गरे ।
द हिडन ट्रेजरले आयोजना गरेको बिमोचन कार्यक्रममा सिंहले पियानोको धुनले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । संगीतका विद्यार्थी लोकप्रिय गीतको धुनमा रमाउन सकुन भनेर नोटेशन बुक प्रकाशन गरिएको हो भने एल्बम संसारभरका संगीत पारखीहरुलाई सुन्दर उपहार हो । एल्बममा १० वटा गीतका धुन छन्, नोटेशन बुकमा नेपाली र नेवार भाषाका २० वटा गीतको नोटेशन छ ।
हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार सन् २०१८ मा मुलुकभित्रका केही सहर र भारतीय सहरमा समेत एल्बम र नोटेशन बुक विमोचन गरिनेछ । म्युजिक फर एजुकेशन नाराकासाथ बिर्तामोड, धरान, बिराटनगर, हेटौंडा, नारायणगढ, वुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, पाल्पा, पोखरा, दार्जिलिङ, सिलगुढी, ग्यान्टोक र सिक्किमसम्म सांगीतिक यात्रा गरिनेछ ।
यसअघि प्रकाशन भएको उनको एल्बम नोस्टाल्जिया–१ मा पनि दश वटा गीतको धुन थियो । एल्बम र नोटेशन बुकमा समाबेश गरिएका गीतहरुमा ‘असारै महिनामा, वितेका कुराले, चियाबारीमा, गहिरो गहिरो सागरजस्तै, गाजलुले आँखै छोप्ने, जागें सारा रात, जति माया लाए पनि, केही मिठो बात गर, किन यसरी, म मरे पनि, म मौनतामा, मलाई माफ गरिदेऊ, पहिलो जुनीमा, परेलीमा, राजमति, रेशम फिरिरी, शोल्टिनी भनि बोलाको, सोलिसे स्वये मगा, तारा मात्र, तिम्रो त्यो हँसिलो मुहारको’ बोलका गीत छन् ।
उपेन्द्रलाल विदेशमा समेत प्रख्यात छन् । उनको व्याण्ड– उपेन्द्र एण्ड फ्रेण्ड्सले सन् २००७ देखि बर्सेनी जापानमा आयोजना हुने फूजी रक फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै आएको छ । यसले लोकसंगीतलाई पाश्चात्य संगीतसँग फ्युजन गराउँदै आएको छ । उसको आफ्नै धुन पनि छ ।
खासमा उपेन्द्रलाल गुरुबा हुन् । पियानो बजाउन सिकाउँछन् । न्यूरोडमा छ उनको प्रशिक्षण केन्द्र–एट नोट म्युजिक । त्यहाँ तीन दर्जन युवा सिकिरहेका छन् । त्यस बाहेक घरमै पुगेर पनि ट्युशन गर्छन् । थाइल्याण्डमा ८ वर्ष पियानो अध्ययन गरेर फर्केपछि उनले सन् १९९६ देखि सिकाउँदै आएका हुन् ।