प्रदेश नम्बर ५ का प्रदेश सांसद डिल्लीबहादुर चौधरीले थारु जातिको कला र संस्कृति जगेर्ना गर्नको लागि दाङमा थारु संग्राहलय निर्माणमा व्यस्त रहेका छन्।
नेपाली कांग्रेसका नेता समेत रहेका चौधरीले दंगिशरण गाँउपालिका वडा नं. ३ चखौरास्थित वेश केन्द्रीय तालिम केन्द्रको चार विगाहा क्षेत्रमा नेपालकै ठूलो थारु संग्राहलय निर्माण गर्न लागेको बताएका छन्।
उक्त संग्राहलयमा हालसम्म झन्डै पाँच हजार जति आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएको सेतोपाटीलाई बताए। थारु बहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरू धर्तीपुत्र मानिने थारु जातिको जीवनीसँग सम्बन्धित विभिन्न कृषि औजार, कला र कलासंस्कृति झल्कने वस्तुहरू राखिएको सांसद चौधरीले बताए ।
विगतमा थारु राजा दंगिशरणको राजधानी रहेको दाङमा थारु जातिको मौलिक कला संस्कृति जोगाउने अभियानका साथ संग्राहलय निर्माण गर्न खोजिएको सांसद चौधरीले बताए।
दाङलाई थारु कला संस्कृतिको नमूना जिल्लाको रूपमा परिचय स्थापित गर्न तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले थारु संग्राहलय निर्माण गरिएको चौधरीले बताए । दाङ थारुको उद्गम स्थल भएको हुँदा त्यो पहिचान स्थापित गर्ने आफूहरूको मुख्य उद्धेश्य रहेको उनले बताए ।