सानो अँध्यारो कोठा। पर्दा छिचोल्दै घामका किरण कोठामा पस्छ। खाटबाट बेलमाया उठेर पर्दा उघार्छिन्, ढोका खोल्छिन्।
उनको जीवन कोठाजस्तै अँध्यारो थियो, घामको किरण त क्यामराले दियो। अर्थात्, फिल्म बनाउन थालेपछि बल्ल उनको जीवन अर्थपूर्ण भएको छ।
यो जीवनलाई अर्थपूर्ण बनाउने बेलायती फिल्म निर्देशक सू कार्पेन्टर हुन्। उनी केही दिनअघि बेलमायाकै कथालाई लिएर काठमाडौं आएकी थिइन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा 'आइ एम बेलमाया' फिल्म प्रिमियरक्रममा उनको जीवन, संघर्ष र भोगाई देखाइन्।
पोखरा, रत्नचोककी बेलमाया दलित (नेपाली) हुन्। नेपाली समाजले उनलाई दबाए पनि, उनको स्वभाव खुम्चिएर बस्ने थिएन। सानैबाट उनको बोली, आनीबानी र सपना ठूलो थियो।
नौ वर्षकी हुँदा बेलमायाले आफ्ना आमाबुवा गुमाइन्। उनीका चार दाजु र एक दिदी छन्।
उनलाई पढ्न कठिन हुन्थ्यो रे। झन् स्कुलमा शिक्षकले 'तेरो दिमागमा त गोबर भरिएको छ' भन्दा उनलाई साँच्चै त्यस्तै हो कि भन्ने लाग्न थालेछ। अनि त आफ्ना लागि पढाइ बेकार ठानेर छाडिदिइन्।
घरमा दाइहरूको पनि व्यवहार राम्रो थिएन। भागेर पोखराको 'एसओएस' आइन्। सन् २००६ मा एसओएसले एउटा 'प्रोजेक्ट' आयोजना गर्यो जसमा सू कार्पेन्टर पनि आवद्ध थिइन्।
यही प्रोजेक्टमार्फत् बेलमायाले पहिलोपटक क्यामरा चलाइन्। क्यामरा भेटेपछि उनको अनुहारमा छुट्टै चमक देखिन थाल्यो। फूल, पुतली, मान्छे, उनले देखेजति सबै खिच्न थालिन्।
त्यो बेला बेलमाया जम्मा १४ वर्षकी त थिइन्। यही क्षेत्रमा आफ्नो पहिचान बनाउँछु भन्ने हेक्का थिएन। अझ पहिचानै बनाउने बारे त सोच्न पनि भ्याएकी थिइनन्। तर उनलाई क्यामराबाट देखिने संसार राम्रो लाग्न थालेको थियो।
'सबै कुरा क्यामराबाट खिच्दा रमाइलो देखिन्थ्यो,' २६ वर्षीया बेलमायाले भनिन्, 'मलाई स्वतन्त्र भएजस्तो हुन्थ्यो।'
त्यो बेला खिचेका फोटा ब्रिटिस काउन्सिल अफ नेपाल र रोयल कलेज अफ आर्टको प्रर्दशनीमा राखिएको थियो। यी फोटा सू कार्पेन्टरको 'माइ वर्ल्ड, माइ भ्यू' नामक पत्रिका (पेपरबुक) मा समेत समावेश गरिएको छ।
त्यस प्रदर्शनीले बेलमायालाई झनै प्रेरणा दिएको थियो, तर गर्ने के? उनीसँग कुनै योजना थिएन।
एसओएसको वातावरण पनि उनलाई खास चित्त बुझेन। छाडेर उनी अर्को संस्थामा पुगिन्। त्यहाँ उनको भेट विरेन चौधरीसँग भयो।
'पढाई पनि छैन, भविष्यको योजना पनि छैन,' भन्ने भएपछि उनलाई बिहे गर्नु उचित लागेछ। १८ वर्षको उमेरमा विरेनसँग बिहे गरिन् र १९ वर्षमा त छोरी विपनाकी आमा नै भइन्।
यो बीचमा उनले ज्यामी काम गरिन्, प्लम्बरको तालिम लिइन्। बेलमाया पुनः पहिलेकै जीवनशैलीमा फर्किइन्।
यता निर्देशक सू भने आफूले पहिले एसओएसमा फोटोग्राफी सिकाएका मान्छेहरू के गर्दैछन् भन्ने जान्न चाहन्थिन्।
त्यसक्रममा उनलाई बेलमायाको कथामा चाख बढ्यो। उनको अवस्था देखेर मनैबाट नराम्रो पनि लागेछ। एक छोरीको आमा भइसकेकी भए पनि उनले बेलमायालाई फेरि पुरानै सपना देखाउन थालिन्।
'सानोमा सबभन्दा चञ्चले र फर्वाड बच्चा थिइन् बेलमाया। फोटोग्राफीले उनको अनुहारमा खुब चमक दिन्थ्यो,' सू सम्झिन्छिन्।
बेलमाया आफैं पनि भन्छिन्, 'म हाउडे छु।'
सानामा माइला दाजुले 'फोटो खिचेर के गर्छेस्' भनेका थिए रे। बिहेपछि श्रीमान विरेनले पनि भन्न थाले, 'त्योभन्दा अरू नै राम्रो काम गरेको भए हुन्थ्यो।'
छोरी सानी हुँदा फिल्म सिक्नै उनलाई गाह्रो हुन्थ्यो। कहिलेकाहीँ सँगै काममा लैजान्थिन्। कहिले श्रीमान विरेनको जिम्मामा।
'म श्रीमती, ऊ श्रीमान जस्तो। बाहिर काम गरेको मलाई मनपर्दैन थियो,' विरेनले भनेको सूले फिल्ममा खिचेकी छन्।
०७२ को भुइँचालोपछि फेरि बेलमायाको सिकाइमा ब्रेक लाग्यो। सिकाउने गुरूहरू काठमाडौं आए। उनी पुरानै ज्यामी काममा फर्किइन्।
त्यही बेला नेपाल आएकी सू बेलमायाको दैनिकी देखेर फेरि बिरक्तिइन्। बेलमायालाई फेरि अर्कोपटक क्यामराको सपना देखाउनुपर्यो। सू फेरि सफल भइन्।
त्यसपछि बेलमायाले सजिलो तकनिक अपनाइन्- आफ्नै दैनिकी क्यामराबाट खिच्न थालिन्।
अनि तयार भयो- 'आइ एम बेलमाया।'
यसमा उनले खिचेका फूटेज पनि भएकाले उनी फिल्मकी सहायक निर्देशक पनि बनेकी छन्।
त्यहीक्रममा उनले गुर्खा २०० औं वार्षिकोत्सव खिच्ने मौका पाइन्। सुरूमा डर भए पनि यसबाट उनको फिल्म निर्माण यात्रा सुरू भयो। दुई वृत्तचित्र निर्देशन गरिसकेकी बेलमायाको औपचारिक शिक्षा कक्षा ६ मात्रै हो। तर फोटोग्राफी र फिल्ममेकिङको कोर्स लिएकी छिन्। आफ्नो पढाइ नभएकै कारण परेका अप्ठ्याराका कारण 'एजुकेट आवर डटर' (हाम्रा छोरीलाई शिक्षा) फिल्म बनाइन्।
यसमा महिलाहरूका लागि शिक्षाको महत्वबारे देखाइएको छ। बेलमायाले उक्त फिल्म आफ्नो गाउँ पोखरा, रत्ननगरमा समेत देखाएकी थिइन्।
'सबैजनाले बेलमाया त ठूलो मान्छे भएछ भन्नुभयो। मलाई एकदम खुसी लाग्यो,' बेलमायाले भनिन्। त्यसपछि दाइ र श्रीमानले पनि उनको फिल्म र क्यामरा संसारबारे सकारात्मक भएका थिए रे।
पछि उनले बेलायतमा रहेको थोमसन रिउर्टस फाउन्डेसनका लागि 'रोइङ अगेन्स्ट द फ्लो' नामक फिल्म तयार पारिन्। यसमा महिला डुंगा चालकको कथा समेटिएको छ।
यही साल भएको युके-एशियन फिल्म महोत्सवमा बेलमायाको 'एजुकेट आवर डटर' ले उत्कृष्ट छोटो फिल्मको उपाधि हात पारेको छ।
त्यस्तै क्यानडामा भएको टोरोन्टो रिल एशियन फिल्म महोत्सव, २०१८ मा 'एयर क्यानडा अर्वाड' जितेको छ। १५ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव, नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव, सिकागो दक्षिण एशियन फिल्म महोत्सव लगायत आधा दर्जन फिल्म महोत्सवमा 'एजुकेट आवर डटर' सहभागी भइसकेको छ।
'फिल्ममेकिङ सिकेर फिल्ममार्फत् समाजको यथार्थ घटना देखाउने मन थियो,' बेलमायाले भनिन्, 'समाजमा महिलाहरूको स्थान र सामाजिक विषयमा बढी रूचि छ।'
एकातिर बेलमायाको पहिचान र कामले सफलता पाउँदै गयो, अर्कोतिर उनको घरायसी सम्बन्ध असफल हुँदै गयो। उनको नाम बन्दै गएपछि घरमा झै-झगडा बढ्न थाल्यो। पछि विरेन र उनी छुट्टिएरै बस्न थाले।
'डिभोर्स गरेका छैनौं तर सहमतिमा छुटेर बसेका छौं। दुई वर्ष भयो सम्पर्क नभएको,' उनले भनिन्, 'पहिले छोरी ऊसँग राख्न खोजको थियो। मैले खोसेर आफूसँग राखे।'
बेलमायाकी छोरी अहिले सात वर्षकी छिन्। सानी भएकाले अहिले उनी फिल्म निर्माणमा सक्रिय छैनन्। छोरीलाई पढाउने र राम्रो शिक्षा दिने उनको चाहना छ। बुझ्ने भएपछि पुनः यही क्षेत्रमा लाग्ने सोचमा छिन्। हाल उनी जीविकोपार्जनको लागि पोखराकै साथीको कपडा पसलमा काम गर्दैछिन्।
मिडियातिर काम गर्ने सोच पनि बनाएकी छन्। तर समय र तलबका कारण मिलिरहेको छैन।
'ब्रेक लिँदै छु। एकल आमालाई अलि गाह्रो हुने रहेछ,' उनले भनिन्, 'फिल्म बनाउन भने कहिल्यै छोड्दिनँ। केही समयपछि निरन्तरता दिन्छु।'
सानै उमेरबाट संघर्ष गर्दै आएकी बेलमाया सक्षम छिन्। यसैले कसैको डर नभएको बताउँछिन्।
पहिलेको बेलमायाको तुलनामा निकै परिवर्तन भएको बताउँदै भन्छिन्, 'अहिलेकी बेलमायासँग सपना छ। जीवनमा केही गर्ने सोच छ।'
सूले उनलाई १४ वर्षदेखि पछ्याएकी छन्। अब उनको पछिको जीवनबारे कथा बनाउने उनले सोचेकी छैनन्। बरू बेलमाया नै अरूका कथा बनाउन सक्षम भइसकिन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी