नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहेर फिल्म 'रत्यौली' निर्माण हुने भएको छ।
रन्जन रिजालको प्रस्तुति र मुस्कान ढकालको निर्देशनमा यो फिल्म बन्ने भएको हो।
शुक्रबार एक पोस्टर ल्याउँदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। विवाह संस्कारको विशेष अंगका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत 'रत्यौली' बाट प्रेरित भई यो फिल्मको नाम राखिएको छ।
रन्जन रिजालको 'रत्यौली' बाट फिल्म निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडिओ क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडिओमा अभिनय गरेका छन्।
त्यस्तै मुस्कान ढकालले 'नाइँ नभन्नू ३' र 'समर लभ' जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन्।
नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका हुन्।
नाइट एंगल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहनेछ।
प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, 'नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन्। त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं।'
निर्देशक मुस्कान ढकालका अनुसार हाल फिल्मको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरू भएको छ। फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन्।
फिल्मको छायांकन आगामी तिहारलगत्तै सुरू हुने जनाइएको छ।