यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म 'मिरमिरे' को प्रदर्शन मिति तय गरिएको छ।
निर्माणपक्षले माघ १ गतेलाई रिलिज मिति घोषणा गरेको हो। अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर प्रदर्शन मिति तय गरिएको हो।
'हामीले माघ १ गते आउने निर्णय गर्यौं। वितरक र प्रदर्शकसँगको सल्लाहमा यो मितिमा आउने निर्णय गरेका हौं,' निर्देशक शेर्पाले भने। अहिले यो फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ।
असार २१ गतेबाट सुरू भएको फिल्मको छायांकन अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु छन्। साथमा माओत्से गुरूङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत कलाकारहरूले पनि यसमा अभिनय गरेका छन्। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको 'कार्साङ' मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।
'मिरमिरे' को निर्देशन सँगै कथा पनि यम स्वयंले लेखेका छन्। फिल्मका छायांकार आलोक शुक्ला हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन्।