महामारीपछि सिनेमा क्षेत्र पुरानै अवस्थामा फर्किन कति समय लाग्ला?
हाल यो क्षेत्रमा संलग्न निर्माता, निर्देशक, कलाकार, प्राविधिकदेखि सिनेमा हल व्यवसायीसम्मलाई यही प्रश्नले पिरोलिरहेको छ। लकडाउन खुकुलो हुन थाले पनि सिनेमा हल सञ्चालन हुने वा छायांकनको काम सुरू भइहाल्न अझै कति समय कुर्नुपर्ने हो, टुंगो छैन।
फिल्म छायांकन समूहमा गर्नुपर्ने भएकाले स्वास्थ्य सुरक्षा कायम गर्दै काम गर्ने वातावरण बनाउने चुनौती बाँकी नै छ। यो संकटले सिनेमा क्षेत्रमा अल्पकालीन र दीर्घकालीन असर पार्ने जानकारहरू बताउँछन्।
फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार यस क्षेत्रमा ३५ हजारभन्दा बढी जनशक्ति जोडिएका छन्। गत वर्ष चैत ११ देखि लकडाउन सुरू हुँदा कयौं फिल्म सार्वजनिक हुने मिति तय भइसकेको थियो। केही फिल्मको छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेको थियो। यस्ता फिल्मको संख्या ४० भन्दा बढी रहेको उनी बताउँछन्।
सुदर्शन थापाको 'म यस्तो गीत गाउँछु २', सन्तोष सेनको 'प्रेम गीत ३', फूलमान वलको 'नीरफूल', निकेश खड्काको 'चपली हाइट ३', मुकुन्द भट्टको 'लप्पन छप्पन २' र नारायण रायमाझीको 'परदेशी २' आदि चैत र वैशाखमा सार्वजनिक हुने मिति पर्खिरहेका केही प्रमुख फिल्म हुन्।
'हाम्रो त प्रचारसमेत भइसकेको थियो,' साढे दुई करोड लगानीमा 'म यस्तो गीत गाउँछु २' बनाएको दाबी गर्दै फिल्म प्रचारका लागि ४० लाख बराबर खर्च भइसकेको निर्माता सुदर्शन थापा बताउँछन्।
उनलाई अवस्था सामान्य भएपछि प्रचारका लागि योभन्दा बढी खर्च हुनसक्ने पिर लागेको छ। उक्त फिल्म फागुन ३० गते सार्वजनिक गरिने भनिएको थियो। केही कारणवश तोकिएको मितिमा सार्वजनिक हुन पाएको थिएन। पछि लकडाउनले नै थन्काइदियो।
निर्देशक तथा अभिनेता खगेन्द्र लामिछाने झन्डै दशकअघि आफैंले निर्देशन गरेको नाटक 'पानीफोटो' कै नाम र कथामा फिल्म प्रदर्शनीमा ल्याउन उत्साहित थिए।
'पानीफोटोको विषयवस्तु खास भएकाले सिनेमा बनाएर धेरै दर्शकसम्म पुग्ने सपना थियो। लकडाउनकै कारण काम पूरा भइसके पनि खुसी साट्न अझै केही समय कुर्नुपर्ने भयो,' खगेन्द्र भन्छन्।
छायांकन सकिए पनि पोस्ट प्रोडक्सनका केही काम बाँकी थिए। ती काम सामाजिक दुरीको नियम पालनासहित केही दिनयताबाट सुरू गरेको खगेन्द्रले जानकारी दिए।
सार्वजनिक हुने मिति कुरेका र पोस्ट प्रोडक्सनमा गइसकेका फिल्म त ढिलो-चाँडो सार्वजनिक होलान्, तर छायांकन भइरहेको फिल्मसम्बद्ध कलाकारलाई परेको मर्का अझै चर्को छ। तिनैमध्ये एउटा फिल्म हो, दीपेन्द्र लामाको '२ नम्बरी'।
यो फिल्मको २५ प्रतिशत सुटिङ सकिइसकेको थियो। लकडाउन खुलिहाले पनि तत्काल छायांकनमा जान नसक्ने समस्याले दीपेन्द्र चिन्तित छन्। उनका अनुसार लकडाउन खुलेपछि पनि महामारीको त्रास यथावत् रहन सक्छ।
उनी भन्छन्, 'अब सुटिङ भइरहेअनुसार मौसम मिल्दैन। अब कात्तिक-मंसिर नभई फेरि सुटिङमा जान सकिन्न।'
'२ नम्बरी' सहित झरना थापाको 'ए मेरो हजुर ४, नारायण रायमाझीको 'परदेशी २' जस्ता ठूलो लगानीका फिल्म पनि छायांकनकै क्रममा रोकिएका छन्। दीपकराज गिरीको 'छक्का-पन्जा ४', विकासराज आचार्यको 'नाईं नभन्नू ल ६', निगम श्रेष्ठको 'छड्के २' भने छायांकनमा जानेवाला थिए।
यसरी छायांकन क्रम रोकिएका र छायांकनमा जान नपाएका फिल्म ५० हाराहारी रहेको फिल्म निर्माता संघका अध्यक्ष आकाश बताउँछन्।
निर्माता संघले जनाएअनुसार, लकडाउनबाट सोझै प्रभावित भई 'होल्ड' मा रहेका फिल्म संख्या झन्डै एक सय बढी छ। यसमा एक करोडदेखि साढे चार करोडसम्म लगानी भएका फिल्म छन्।
नेपालमा बर्सेनि औसतमा ठूला-साना लगानीका सयभन्दा बढी नेपाली फिल्म सार्वजनिक हुन्छन्। ती फिल्म निर्माण, प्रचार र प्रदर्शनी क्रममा हजारौं सहकर्मी जोडिन्छन्। कोरोना लकडाउनले विशेषमा तिनै दैनिकी ज्यालादारी गर्ने स्पटब्वाइ, मेकअप आर्टिस्ट, लाइटम्यान, ड्रेसम्यान, साउन्ड म्यान लगायत समूह प्रभावित पारेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन्।
'लकडाउन सुरू भएदेखि उहाँहरूलाई पेट भर्न नै समस्या परेको छ,' दैनिक सयौं फोन आउने बताउँदै उनी भन्छन्, 'फोनमा 'खाना र कोठा भाडाको समस्या छ। अध्यक्ष भने नि, बा भने नि हजुर नै हो, सहयोग गरिदिनुपर्यो' भन्नुहुन्छ। संस्था र केही चलचित्रकर्मीको सहयोगमा सक्नेलाई मद्दत गर्दैछौं। तर हामीले मात्र गरेर नसकिने अवस्था छ।'
२०७२ को भूकम्प बेलाभन्दा यति बेला चलचित्रकर्मीलाई बढी मार परेको उनी तर्क राख्छन्। भूकम्पपछि करिब १५ प्रतिशत चलचित्रकर्मीलाई समस्यामा पारेको थियो भने अहिले महामारीको असर नपर्ने कोही छैनन्।
पुष्करका अनुसार प्राविधिक क्षेत्रमा करिब दुई हजार कलाकार प्रत्यक्ष रूपमा जोडिएका छन्।
दिनेश लामा दर्जर्नौं फिल्म, टेलिशृंङ्खला र म्युजिक भिडियोमा काम गरेका अनुभवी लाइटम्यान हुन्। उनी भन्छन्, 'पछिल्लो २५ वर्षमा प्राविधिक क्षेत्रमा यस प्रकारको सामूहिक समस्या पहिलोपटक भोग्दैछौं। प्राविधिक कलाकारलाई हातमुख जोर्नै समस्या परिसक्यो।'
प्राविधिक कलाकारको समस्यालाई 'चपली हाइट ३' का निर्माता अर्जुन कुमार पनि गम्भीर रूपमा लिइनुपर्नेमा जोड दिन्छन्।
'फिल्म क्षेत्र भयंकर नाजुक अवस्थामा छ। स्थिति सामान्य भइहाले छायांकनमा गइसकेका फिल्महरूले निरन्तरता देलान्, तर नयाँ फिल्ममा लगानी गर्ने निर्माता पाउन अलि लामै समय कुर्नुपर्छ होला,' उनी भन्छन्।
त्यसैले लकडाउन खुले पनि चलचित्रकर्मीले नयाँ समस्याहरू सामना गर्नुपर्ने उनको अनुमान छ। प्राविधिक संघका अध्यक्ष पुष्कर यसमा सहमति जनाउँछन्।
'तर रोगसँग सम्झौता गर्नुपर्ने परिस्थिति सिर्जना हुँदैछ,' उनले व्यवहारिक विकल्पमा जोड दिँदै भने, 'सरकारले मापदण्ड तोकेर म्युजिक भिडियो तथा टेलिशृंखलाको मात्र सुटिङ व्यवस्था अनुमति दिए चलचित्र क्षेत्रका २० देखि २५ प्रतिशत कामदारलाई राहत मिल्न सक्छ।'
संघ-संस्थाहरूले आफ्ना चलचित्रकर्मीका लागि सकेको गर्दै आएका छन्। तर यसमा सरकारको थप मद्दत आवश्यक पर्ने प्राविधिक संघका अध्यक्ष पुष्कर र निर्माता संघका अध्यक्ष आकाशको भनाइ छ।
यता निर्देशक तथा निर्माताहरूलाई पनि फिल्म रिलिज कसरी गर्ने भन्ने वैकल्पिक समाधान खोज्न हतारो छ।
'भोलिका दिन हल चल्न समय लागे हामीले वैकल्पिक माध्यम अपनाउन पर्ने हुन्छ,' निर्देशक खगेन्द्र भन्छन्, 'फिल्म क्षेत्र चलायमान राख्न हलको विकल्प डिजिटल प्लेटफर्म हो।'
खगेन्द्र 'फोपी', 'सिनेमा घर', 'भिडियो पसल' जस्ता नेपाली साइटमार्फत् सार्वजनिक गर्न सकिने भए पनि यसबाट लगानीको खर्चसमेत नउठ्ला कि भन्ने चिन्ता व्यक्त गर्छन्।
डिजिटल माध्यम हालको संकटबाट राहत पाउन सक्ने विकल्प हो भन्नेमा खगेन्द्र सकारात्मक सुनिए पनि प्रायः निर्देशक तथा निर्माता भने नेपाली साइटमार्फत् आफ्नो फिल्म सार्वजनिक गर्न नसक्ने बताउँछन्।
'एक वर्ष हल बन्द भए पनि फिल्म होल्डमै राख्छौं। रिलिज नहुन्जेल कुनै फिल्म पुरानो हुँदैन,' निर्माता अर्जुन आफ्नो फिल्म 'चपली हाइट ३' नेपाली अनलाइन साइटमार्फत् सार्वजनिक गर्नेमा कुनै चासो देखाउँदैनन्।
उनका अनुसार, नेपालमा भरपर्दो र लगानी उठ्न सक्ने अनलाइन प्लेटफर्म अभाव छ।
फिल्मलाई हिन्दीमा डबिङ गरी अङ्ग्रेजी सबटाइटलमा तयार पारेर 'अमेजन प्राइम' मार्फत् सार्वजनिक गर्ने भने उनले सोचेका छन्। फिल्मले बाहिरी देशमा समेत राम्रो कमाइ गर्न सक्ने उनी विश्वास राख्छन्।
'म यस्तो गीत गाउँछु २' का निर्देशक सुदर्शन थापा पनि अनलाइनमा फिल्म सार्वजनिक गर्नमा उति सहमति जनाउँदैनन्। 'तर सामूहिक रूपमा अनलाइनमार्फत् फिल्म सार्वजनिक गर्ने हो भने विचार गर्न सकिन्छ। एक्लै चाहिँ जोखिम लिन सकिन्न,' उनी भन्छन्।
निर्माता तथा पूर्व फिल्म समीक्षक दीपेन्द्र लामा पनि अनलाइन साइट वा एपमार्फत् कुनै पनि फिल्म सार्वजनिक गर्ने पक्षमा छैनन्। उनी यसलाई तीन कारणले सम्भव नहुने तर्क राख्छन्।
पहिलो, नेपाली दर्शकलाई युट्युबमै नेपाली फिल्म हेर्ने बानी बसिसक्यो। दर्शकहरू कुनै पनि साइटमार्फत् नेपाली फिल्मलाई पैसा तिरेर हेर्न रुचाउँदैनन्।
दोस्रो, नेपालमा भरपर्दो त्यस्ता साइट छैनन्, जसमार्फत् सुरक्षित हिसाबमा फिल्म सार्वजनिक गर्न सकियोस्। भएका केही साइटले गोपनीयताको सुरक्षा ग्यारेन्टी लिन सक्दैनन्।
र, तेस्रो, ती साइटले फिल्म निर्माणमा लागेको लगानी व्यहोर्न सक्दैनन्। ठूलो लगानी लागेका फिल्मको १० प्रतिशत पनि मुनाफा नहुने सम्भावना बढी छ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्ने र यसको माग पनि कम भएका कारण 'नेटफिल्क्स' र 'अमजन प्राइम' जस्ता साइटमा राख्न नसक्ने निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्। 'हामीले ती साइटसँग कुरा पनि गर्यौं। तर उनीहरूका अनुसार नेपालमा यसको पहुँच कम छ,' उनले भने।
कोरोना महामारी र लकडाउनले स्थानीय फिल्म क्षेत्र मात्र नभई डायस्पोरामा समेत असर पारेको छ। स्थानीय र डायस्पोरा बजार चल्न अझै एक वर्ष बढी समय लाग्न सक्ने चिन्ताले हरेक फिल्मकर्मीलाई सताएको छ।
'हामीसँग धेरै विकल्प पनि छैनन्। स्थिति सामान्य हुने प्रतीक्षा गरौं,' सरकारप्रति आशावादी निर्माता संघका अध्यक्ष आकाश भन्छन्, 'समाजको ऐना र राष्ट्रको गहना कहलाउने फिल्म क्षेत्रलाई सरकारले पक्कै पनि हेर्ला!'