सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको जेठ ३ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि उनको शव व्यवस्थापनका लागि अस्पताल अघि सरेन। जिल्लाको एम्बुलेन्स र शव वाहनसमेत पछि हटे।
कोरोना लाग्ने डरले हरेकको मनमा जरा गाडेको थियो!
ती महिलाको अन्त्येष्टि पशुपतिको विद्युतीय शवदाह गृहमा गरिने भयो। अस्पतालबाट शव व्यवस्थापन गर्ने कोही नभएपछि समस्या आइपर्यो। छलफलपछि काभ्रे प्रशासनले भक्तपुरसँग सम्पर्क राख्यो।
भक्तपुर महानगर प्रहरी परिसरले वीरदल गण, सेना र आरएनए-१६ (रेस्क्यु एन्ड अवेरनेस) को सहकार्यमा एक निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएको थियो। यो गाडीले भक्तपुर परिसरमा कोरोना लक्षण भएका तथा बिरामीलाई सेवा पुर्याउँदै थियो।
यसका लागि भक्तपुरकै अरुण सैंजु र राजेश गाँइजु खटिरहेका थिए। र, उनीहरूसँगै आरएनए-१६ समूह। २०७२ को भुइँचालोदेखि पाँच युवा मिलेर समाजसेवा गर्ने उद्देश्यले आरएनए-१६ समूह गठन गरेका हुन्। समूहले मुख्यतया १६ किसिमका विपतमा काम गर्छ।
यही समूहका दुई साहसी युवा अरुण सैंजु र राजेश गाँइजुको अनुभव समेटेर निर्देशक गणेश पाण्डेले वृत्तचित्र बनाएका छन्- 'सिभिल सोल्जर्स'।
यो वृत्तचित्रमा राजेश र अरुणसँगै मनोजकुमार श्रेष्ठको कथा समावेश छ, जसले लकडाउन बेला निजी कारलाई एम्बुलेन्स बनाएर सेवा पुर्याएका थिए।
सिभिल सोल्जर्स गत बिहीबारदेखि जारी 'काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ)' मा नेपाल पानोरमा खण्डमा प्रदर्शन भएको छ। किम्फमै सार्वजनिक यो वृत्तचित्र पुस २ गतेसम्म किम्फको वेबसाइटमा नि:शुल्क हेर्न सकिन्छ।
गणेशले सिभिल सोल्जर्स कोरोना महामारी र लकडाउन बेलै छायांकन गरेर तयार पारेका हुन्।
'राजेश र अरुणले गरेको काम वास्तवमै प्रशंसनीय छ। कामप्रतिको प्रेरणा र समर्पणले गर्दा उहाँहरूको छवि आमनागरिकदेखि प्रशासनसम्म परिचित छ। उहाँहरूको काम अझ धेरैमाझ पुर्याउनु पर्छ भन्ने मेरो प्रयास हो। त्यसैले उहाँहरूलाई पछ्याउँदै वृत्तचित्र तयार पारेँ,' निर्देशक गणेशले सेतोपाटीसँग भने।
वृत्तचित्रमा राजेश र अरुणले कोरोना संक्रमितको शव व्यवस्थापन गरेपछि क्वारेन्टाइनमा बस्दासम्मका कुरा समेटिएका छन्। नेपालमा महामारी फैलिनुअघि नै राजेश र अरुणले रेन्जर महावीर गण छाउनीबाट 'डेडबडी ह्यान्डलिङ एन्ड डेमोस्ट्रेसन' तालिम लिएका थिए। लकडाउनको दुई महिनाअघिदेखि नै कोरोना सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेका थिए।
'बाहिरी मुलुकमा कोरोना संक्रमित र मृत्यु संख्या दिनँहु बढ्दो थियो। यहाँ पनि बढ्छ भन्ने पूर्वानुमान थियो। हामीसँग व्यवस्थित इमर्जेन्सी एम्बुलेन्स थिएन। त्यसैले मोडिफाइ गरेर बनाउनुपर्छ भन्ने लागेर गाडी बनाएका थियौं,' ३० वर्षीय राजेशले भने।
आफ्नो गाडी नभएका कारण उनीहरूले उद्योगपति कृष्णप्रसाद ताम्राकारसँग मागे। राजेशका अनुसार उनीहरूले वीरदल गणका कर्णेल शिव पौडेल र सेनाको सहयोगमा गाडीलाई एम्बुलेन्स र शव वाहन दुवै तरिकामा प्रयोग गर्न सकिने बनाए।
पहिलो कोरोना संक्रमितको शव व्यवस्थापन अनुभव सुनाउँदै भने, 'त्यो दिन साँझ ७ बजे हामी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधान र सेनाका कर्णेल शिव पौडेलको स्कर्टिङसहित भक्तपुरबाट धुलिखेल अस्पताल गयौं।'
अस्पताल पुग्दा झन्डै साढे ८ भएको थियो। अस्पतालकै कर्मचारीको सहयोगमा शव भए ठाउँसम्म पुगे। सुत्केरी ती महिलाको रक्तस्राव एकदमै धेरै थियो। राजेश भन्छन्, 'अस्पतालले बेरिदिएको प्लास्टिकमा रगतका छिटा देखिन्थ्यो। हामीले फेरि अर्को प्लास्टिकले बेरेर शव राख्ने झोलामा राखेर गाडीमा हाल्यौं।'
धुलिखेलबाट पनि उनीहरू स्कर्टिङमै फर्किए। पशुपतिको विद्युतीय शवदाह गृह पुगे। तर त्यहाँ कसैले शव छोएनन्। त्यहाँका कर्मचारीले मेसिन 'स्विच अन' भने गरिदिए। राजेश र अरुणले दाहसंस्कार गराए।
'दिदी सम्झेर गरिदियौं। प्रत्येक धर्म र परम्परा अनुसार गरिने संस्कार पहिलो पटक बिना कुनै धर्मविधि भएको थियो। कस्तो समय आएछ भन्ने पनि भयो,' उनीहरू बिस्तार लगाउँछन्।
शव दाहगृहबाट बाहिर निस्केर उनीहरूले आफूले लगाएको सबै लुगा पेट्रोल हालेर जलाए। गाडीलाई 'डिसइन्फेक्टेड' गरियो र भक्तपुर अस्पताल फर्किए। पशुपतिबाट भक्तपुर अस्पताल आइपुग्दा उनीहरूको चर्चा सामाजिक सञ्जालमा भइसकेको थियो।
‘हामीले परिचय खुलाउन चाहेका थिएनौं। तर अस्पताल पुग्दासम्म सामाजिक सञ्जालमा नाम र फोटोसहित कोरोना संक्रमित मृत शव व्यवस्थापन गर्ने व्यक्तिहरू भनेर आइसकेछ,’ राजेश भन्छन्, ‘त्यसले हामीलाई आइसोलेसन बस्न समस्या पारेको थियो।’
राजेश र अरुण भक्तपुर, रानीकोटको एउटा कटेजमा बस्ने निधो गरेका थिए। तर उनीहरू त्यहाँ एक रात मात्र बसे।
‘हामी त्यो क्षेत्रमा बसेको स्थानीयलाई चित्त बुझेन। त्यसैले हाम्रा लागि सैनिक क्षेत्र टेन्ट तयार पारियो,’ उनले भने।
क्वारेन्टाइनमा दिक्क लाग्दा दुई जना कहिले जंगल सफा गर्थे, कहिले सोत्तर सोहोर्दै थुपार्थे। शव व्यवस्थापन गरेको पाँचौं दिनमा उनीहरूको स्वाब लिइयो। नवौं दिनमा रिपोर्ट आयो- नेगेटिभ।
‘रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किहाल्यौं। हामीमा आत्मविश्वास बढेको थियो,’ अरुण भन्छन्, ‘अहिलेसम्म हामीले ४० भन्दा बढी शव व्यवस्थापन गरिसकेका छौं।’
अहिले त उनीहरूलाई नगरपालिकाले अर्को गाडी दिएको अरुण बताउँछन्। राजेश र अरुणसहित अहिले यो टिममा खट्ने १० जना छन्। उनीहरू मिलेर भक्तपुरका ८ अस्पताललाई शव व्यवस्थापन तालिम समेत दिइसकेका छन्। हप्ता दिनअघि मात्रै उनीहरूको टोली सोलुखुम्बु पुगेको थियो। त्यहाँ उनीहरूले १ सय ३५ जनालाई विभिन्न विपत व्यवस्थापन तालिम दिए।
‘सिभिल सोल्जर्स’ का निर्देशक गणेश पाण्डे र उनको टोलीले अरुण र राजेशबारे सुनेलगत्तै पछ्याउन थालेका हुन्। वृत्तचित्र छायांकन भने वैशाखदेखि सुरू भएको हो। २५ मिनेटको वृत्तचित्र असोजमा तयार भएको हो।
(सिभिल सोल्जर्स हेर्न यहाँ क्लिक गर्नुहोस्)