गितार सेसनः
ठमेलतिरका पब वा रेस्टुरेन्टका मेनुमा संगीत लेखिरहन नपर्ने परिकार हो। विभिन्न देशका स्रोताहरूले खानासँगै यहाँ बज्ने गीत-संगीतबाट नेपाली संगीत संस्कृतिको पनि स्वाद चाख्छन्। यहीँ नेपाली कलाकारले प्रस्तुत गर्ने विदेशी भाषाका गीत-संगीतको आनन्द पनि लिन्छन्।
पब वा रेस्टुरेन्टमा गाउने बजाउने अवसर धेरै संगीतकारका लागि आर्थिक आधार बन्दै आएको छ। यहाँ गाउने बजाउने गायक-संगीतकारमा युवा पुस्ताको बाहुल्य छ। उनीहरूको आफ्नै गीत-संगीत रेकर्ड भएको हुन पनि सक्छ, नहुन पनि सक्छ। तर उनीहरू व्यावसायिक कलाकारसरह गाउँछन्, बजाउँछन्।
एलेक्स डी प्रशन्न तिनैमध्ये एक हुन्। 'गिग' बाहेक साना-ठूला कन्सर्टमा समेत प्रस्तुति दिएका उनी अक्सर कभर गीत गाउँछन्। तर जहाँ जान्छन्, रेकर्ड गर्न बाँकी रहेका आफ्ना गीत पनि सुनाइहाल्छन्।
उनीसँग यस्ता तीन वटा गीत तयार छन्, जसमा शब्द-संगीत उनकै छ। सेतोपाटी 'गितार सेसन'मा उनले अन्य गीतसँगै आफ्ना तीन वटै गीत सुनाए।
संगीतमा करिअर बनाउने सपना एलेक्सले वीरगञ्ज हुँदै देखेका हुन्। हाल उनी त्यही सपना पछ्याउन संघर्ष गरिरहेको बताउँछन्।
वीरगञ्जका एलेक्सको बाल्यकाल उनको मामाघरमा बित्यो। घर छेउमा एउटा क्लब थियो। त्यो क्लबमा अग्रज दाइहरूले ड्रम बजाएको उनी लुकीलुकी हेर्थे। उनले लुकेर हेरेको थाहा पाएपछि अग्रज दाइहरूले भित्रै बोलाएर गीत गाउन लगाए।
एलेक्सलाई त्यही बेलादेखि अरूका अगाडि गाउन रमाइलो लाग्न थालेको बताउँछन्। हाँसीहाँसी आत्मविश्वास साथ गाउने-बजाउने उनलाई स्रोता-दर्शकसामु गाउन सधैं उत्साहित हुन्छन्।
गाउनबाहेक एलेक्स बाजा बजाउने रहर लाग्थ्यो। तर घरमा बाजा थिएन। उनकी हजुरआमा चिया बेच्थिन्।एलेक्स हजुरआमाले पकाएको चिया गिलासमा बोकेर बाटो-बाटो दगुर्थे। हजुरआमा उनलाई माया गरेर केही पैसा दिन्थिन्।
'त्यही चिया बेच्ने काम गरेर जम्मा गरेको पैसाले गितार किनेँ,' उनले भने।
एलेक्सको पारिवारिक जीवनमा सानैदेखि केही संकट थिए र अझै छन्। उनका आमाबुबाको सम्बन्ध विच्छेद भएको हो। यसले एलेक्सलाई कलिलै उमेरदेखि कमाउनु पर्ने दबाबमा पार्यो।
'परिवारभित्रका केही समस्याका कारण आफ्नो लागि आफैं सोच्नुपर्ने भयो। ११ कक्षापछि पढाइभन्दा पेटका लागि समय दिनुपर्यो,' उनले भने, 'संगीतबाहेक अर्को सपना थिएन। संगीतमै केही गर्न सकिएला भन्ने सोचले काठमाडौं आएँ।'
वीरगञ्ज हुँदा उनले केही लाइभ कार्यक्रममा गीत गाउने अवसर पाएका थिए। काठमाडौं आएर उनले त्यही काम खोजे। वीरगञ्ज हुँदा सय रूपैयाँ पाएका एलेक्सले ठमेलमा पहिलो पटक गाउँदा पाँच सय पाएको बताउँछन्।
काठमाडौं यसै महँगो छ। त्यसमाथि संगीतकार बन्ने महँगो सौख। उनी किस्ता-किस्तामा आफ्ना आवश्यकता पूरा गरिरहेका छन्। उनी काठमाडौं आएको लगभग छ वर्ष भयो। यसबीच उनको मुख्य संघर्ष मोटरसाइकल र वाद्यवादनहरू किन्नमै केन्द्रित रह्यो।
'पहिला किनेको गितारले अलि भ्याएन। यहाँ आएर नयाँ गितार किनेँ। लुभूदेखि ठमेल टाढा भएकाले राति फर्किन गाह्रो हुन्थ्यो। बल्लबल्ल मोटरसाइकल किनेँ,' उनले भने।
केही समयअघि उनले स्कुटर साटेर बाइक किनेका छन्। महामारी र लकडाउन हुन्थेन भने उनको जीवनले एउटा लय समातिसकेको थियो। धेरै थोरै जति भए पनि नियमित आम्दानी हुन्थ्यो। तर लकडाउन समयमा त्यो बाटो बन्द भयो।
संगीत प्रस्तुति नै एक मात्र आम्दानीको स्रोत भएका एलेक्ससँग कमाउने अर्को कुनै विकल्प थिएन। घरभाडा तिर्ने तनाव र खानेकुरा अभाव एकैचोटि भोगेका उनलाई महामारीकाल कटाउन पर्नुसम्म सकस परेको थियो। यस्तो बेला सुख्खा चिउरा र चाउचाउ खाँदा-खाँदा घाउ नै भएको उनी सम्झन्छन्।
यस्तो समस्यामा उनलाई आफ्नो ब्यान्ड 'परिच्छाया'का ड्र्मर विक्रम सूर्यवंशीले विशेष साथ दिएको उनले बताए। तीन वर्षअघि सुरू भएको यो ब्यान्डमा एलेक्स र विक्रमसँग प्रवेश घिसिङ (मुरली), रोनिश मोक्तान (गितारिस्ट) र आदित मगर (बेस गितारिस्ट) छन्। एलेक्स ब्यान्डका गायक हुन्।
नामको पुछारमा प्रसन्न राखे पनि दु:खसँग उनी सानैदेखि परिचित थिए।
'तर लकडाउन बेला ठूलै संकटमा परेँ। सुरूमा घरभाडा तिर्ने चिन्ता थियो, बिस्तारै के खाने भन्ने चिन्ता थपियो,' उनले भने, 'वीरगञ्जमा चिया बेचेको अनुभव थियो। यहाँ पनि 'चिया घर'मा वेटरको काम पाएँ। तीन महिना जति त्यहीँ काम गरेँ।'
२२ वर्षीय एलेक्सले काठमाडौंमा टिक्न र संगीतमा लागिरहन धेरै कष्टपूर्ण अनुभव सँगालेका छन्। उनले सुनाए, 'गितार बोकेर दुई रात ठमेलकाे चिसो सडकमा सुतेँ। गायक बन्न चिया बेचेँ, भाँडा माझेँ, झाडु बढारेँ।'
महामारीको जोखिम घट्दै जाँदा उनी फेरि पहिला झैं ठमेल र ललितपुरका केही रेस्टुरेन्टमा गाउन थालेका छन्। उनले भने, 'लकडाउनमा पाउनसम्म दुःख पाइयो, तर अहिले स्थिति सामान्य बन्दैछ। अब फेरि भोकै बस्नु नपर्ला।'
त्यसो त उनले लकडाउन समयमा पनि गीत बनाए। तर स्थिति सामान्य बने उनी फेरि पहिलाझैं सक्रिय हुनेछन्। कभर गीत गाउन रूचाए पनि आफ्नै गीत रेकर्ड गराउनु एलेक्सको वर्षौंदेखि पूरा हुन बाँकी सपना हो। उनको अर्को इच्छा अधुरै छ। पनि पैसासँगै जोडिएको छ।
हालसम्म औपचारिक रूपमा संगीत नसिकेका उनी संगीत सिकेर अझै मिहेनतसाथ स्तरीय गीत-संगीत बनाउन चाहेको बताउँछन्।
'सपना छ तर पैसा छैन। यो महँगो सहरमा किस्ता-किस्तामा सपना पूरा गर्नुछ,' उनले भने, 'संघर्ष जारी छ। सपना जरूर पूरा हुनेछ। आज, नभए भोलि, नभए पर्सि।'
यो पनि हेर्नुस्ः प्रेम, समर्पण, स्वतन्त्रता गाउने सिम्मा