दसैंमा रिलिज भएका तीन नेपाली फिल्मले कुल १३ करोड ४४ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
चलचित्र विकास बोर्डले दिएको जानकारीअनुसार यी फिल्मले असोज १३ देखि ३१ गतेसम्म बक्स अफिसमा उक्त कमाइ गरेका हुन्।
कुन फिल्मले कति कमाए?
बलिदानः सन्तोष सेन निर्देशित यो फिल्मले सर्वाधिक ४ करोड ९८ लाख ८६ हजार ८ सय ५४ रूपैयाँ कमाएको छ। यसमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मालगायत कलाकारहरूमुख्य भूमिकामा छन्।
हरिबहादुरको जुत्ताः दीपेन्द्र के. खनाल निर्देशित यो फिल्म कमाइको हिसाबमा दोस्रो नम्बरमा छ। हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की लगायतको अभिनय रहेको यस फिल्मले ४ करोड ५७ लाख ११ हजार ३ सय ५२ रूपैयाँ कमाएको छ।
माइतीघरः मिलन तामाङ निर्देशित यो फिल्मले ३ करोड ८८ लाख ५० हजार २ सय ३० रूपैयाँ कमाएको छ। यसमा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ।
यी तीनवटै फिल्महरू अझै पनि सिनेमा घरमा प्रदर्शन भइरहेका छन्, यद्यपि शनिबारयताको कमाइको विवरण भने आउन बाँकी छ।
नेपालमा 'कान्ताराः च्याप्टर १' को आक्रामक कमाइ
ऋषभ शेट्टी निर्देशित भारतीय फिल्म 'कान्ताराः च्याप्टर १' ले नेपालमा १० करोड ४१ लाख २९ हजार ४ सय ४९ रूपैयाँको आक्रामक कमाइ गरेको छ।
दसैंको दिन (अक्टोबर २) मा रिलिज भएको यो फिल्मले असोज ३१ गतेसम्म उक्त रकम कमाएको हो। भारतमा यस फिल्मले ५ सय करोडभन्दा धेरै कमाएको छ।