गितार सेसन
'एएसएम' नामले चिनिने अभिषेक शंकर मिश्रले संगीत विरासतमै लिएर आएका थिए। बुवापट्टी सात-आठ पुस्ता र आमातिर चार पुस्ता पुरानो सिलसिला छ।
सांगीतिक परिवारमा हुर्केका अभिषेकले आफ्ना हजुरबुवाबाट संगीतसम्बन्धी धेरै कथा सुनेका थिए। उनका जिजुहजुरबुवा, हजुरबुवाहरू जंगलमा सितार बजाउँथे। त्यसबेला संगीत प्रकृति र भगवानका लागि हो भन्ने धारणा थियो। उनका हजुरबुवा दैनिक १३ घन्टा अभ्यास गर्थे।
उनका हजुरबुवाको संगीत सुनेर चराचुरुंगी र हरिणहरू झुम्मिन आउँथे रे!
शास्त्रीय संगीतको पृष्ठभूमि भएका अभिषेकले पनि स्वभाविक रूपमा बालापनमै गितार समाते। उनका हजुरबुवाले उनलाई सानो सितार किनिदिएका थिए। तर सम्बत् ९० दशकमा हुर्केका उनको पुस्ता झैं उनी गितारतिर आकर्षित भए।
सेतोपाटी गितार सेससनमा आएका अभिषेकले आफ्नो गितारप्रतिको आकर्षण सुनाउँदै भने, 'त्यो बेला जसको हातमा गितार हुन्थ्यो, त्यो हिरो हुन्थ्यो।'
सन् २००० को कुरा हो। सितार बजाइरहेका उनले बुवालाई गितार किनिदिन भने। गितार किनेपछि हजुरबुवालाई सुनाउन पाउनु आफ्नो जिन्दगीकै महत्वपूर्ण क्षण मान्छन्।
उनले भने, 'हजुरबुवाको आशीर्वादले संगीतमा लाग्ने प्रेरणा र शक्ति पाएँ। मेरो बुवाको प्रेरणा पनि रह्यो।'
उनी १८ वर्षको उमेरतिर पुग्दा टेलिभिजन, कन्सर्ट, म्यागेजिनलगायत माध्यमबाट संसारका फरक स्वादका संगीत पछ्याउने भइसकेका थिए। उनलाई सबैभन्दा धेरै लाइभ कन्सर्टहरूले आकर्षित गर्थ्यो।
अभिषेक संसारभरका संगीत पछ्याउने क्रममा आफूले राम्रो गीत संगीत के हो भन्ने बुझेको बताउँछन्। उनले भने, 'राम्रो गीत संगीत भएर नपुग्ने रहेछ। लाइभ कन्सर्ट कस्तो हुनुपर्छ भन्ने पनि बुझेँ। यसका लागि प्रतिबद्ध एउटा समूह किन चाहिन्छ भन्ने पनि थाहा भयो।'
विभिन्न ब्यान्डमा आबद्ध रहेर काम गरेका उनले धेरै कलाकारहरूसँग सहकार्य गरेका छन्। ब्यान्डका सदस्यहरू विदेश जाने समस्याका कारण नयाँ ब्यान्ड बनाउँदै बन्द गर्नु परेको अनुभव पनि भोगेका छन्।
यस्तै कारण सन् २०१८ मा उनले आफ्नै नामको अघिल्ला अक्षरहरू जोडेर 'एएसम' ब्यान्ड स्थापना गरे। चार सदस्यको यो ब्यान्डको नामको अर्थलाई परिभाषित गर्न नचाहे पनि यसको धेरै अर्थ लाग्न सक्ने उनले बताए।
'एएसमको एउटा अर्थ अभिषेक शंकर मिश्र लाग्छ। अर्काे अर्थ, एक्लो सोझो मान्छे पनि हुन सक्छ। अ स्ट्रेन्ज मोन्सटर्स पनि हुन सक्छ। परिभाषित गरिराख्नुपर्छ भन्ने लाग्दैन।’
चार सदस्यीय यो ब्यान्डबाहेक अभिषेक एकल रूपमा संगीत सिर्जना र कन्सर्ट गरिरहेका छन्। संगीतलाई स्वअध्ययनको विषय बनाए अभिषेकले इसिएस म्यागेजिनका लागि एल्बाट्रस, अन्डरसाइड जस्ता ब्यान्डहरूका संगीत समीक्षा पनि लेखेका छन्।
अभिषेकका संगीतमा उनको संगीत प्रस्तुतिमा दुई दशकदेखि सक्रिय उनी रक, शास्त्रीय, प्रगतिशील रक, रेगी, आधुनिक धेरै खालका संगीत मन पराउँछन्। यस्तो रूचिले आफ्नो संगीतबारे बुझाइ र सिर्जनामा प्रभाव पारेको उनी बताउँछन्।
'संगीत बहुआयामिक विधा हो। म मेरो सांगीतिक घेरा कुनै एउटा विधामा नबाँधिई फराकिलो बनाउन चाहन्छु। संगीतको माध्यमबाट कति वटा अन्तरिक्ष म घुम्न सक्छु र संगीतलाई कहाँसम्म लान सक्छु, खोज्न चाहन्छु,' उनले भने।
उनले आफ्ना केही गीतको उदाहरण समेत दिए, 'अनुभव गीतमा २ मिनेट बाँसुरीको धून छ। मोन्सटर साइज कम्पेरिजनमा एसियाको प्रतिनिधित्व गर्ने शिव ताण्डव डान्स छ।'
उनले सन् २०१३ मा कृपा स्टुडियोमा रेकर्ड गरिएको 'अन माइ वे' गीतबाट औपचारिक संगीत यात्रा सुरू गरेका हुन्। भने, 'तर मैले मेरो संगीतको सिग्नेचर साउन्ड नै भेटेको थिइनँ।'
विगत दुई वर्षयता भने उनलाई आफ्नो सिग्नेचर साउन्ड भेटाएको हो कि भन्ने लाग्न थालेको छ।
'अनुभव, तारा जस्ता गीतले मलाई स्रोताहरूले तपाईंको संगीत अलग छ भन्नुहुन्छ। सायद त्यो अलग भन्नु नै मेरो सिग्नेचर साउन्ड हो।'
एउटा संगीतकर्मीका लागि आफ्नो सिग्नेचर साउन्ड भेटाउनु महत्वपूर्ण भए पनि यसका लागि वर्षौंको साधना चाहिन्छ। तर साधनाबाहेक वास्तविक जीवनको अनुभव पनि आवश्यक भएको उनी बताउँछन्।
'वास्तविक जीवनमा त्यो साउन्ड पाउन चोट पाउनुपर्छ, खुसी महसुस गर्नुपर्छ। मैले जिन्दगीमा ती सबैखालको अनुभव र अनुभूति सँगालेको छु।' कुनै बेला झम्सिखेल र ठमेलमा गिगका लागि प्रस्तुति दिन गितार बोकेर भड्किएको अनुभव पनि रहेछ।
संगीतलाई अभिषेक आफैंसँग र अरूसँग संवाद गर्ने माध्यम मान्छन्। यो संवाद गर्न उनी कहिले स्टेजमा उक्लन्छन् त कहिले एक्लै विदेश यात्रामा पनि निस्क्छन्।
'मेरा गीतहरू मेरो जिन्दगीका सुखदुःखका क्षणहरूको सँगालो हो। मेरा आफन्ती र साथीहरूको सम्झना हो। पचास-साठी वर्षको उमेर पुगेपछि म तिनै गीत सुनेर हाँस्नेछु। सायद भावुक पनि हुनेछु।'
हरेक गीत बनाउन उनी शब्द, संगीतबाहेक साउन्ड, रेकर्डिङको गुणस्तर लगायतमा ध्यान दिनुपर्ने जोड दिन्छन्। भविष्यमा धेरै कलाकारसँग सहकार्य गर्दै एल्बम निकाल्ने सोच राखेका छन्। महामारीका कारण एएसमको एल्बम निकाल्ने योजना भने पर धकेलिएको थियो।
उनले यो वर्षको योजना सुनाए, '२०२१ मा एएसमको एल्बम निकाल्ने र देशका विभिन्न ठाउँमा कन्सर्ट गर्ने तयारीमा छौं।'
स्वच्छन्द स्वभावका अभिषेक हातमा गितार बोकेर बरालिन पनि मन पराउँछन्। दुई पटक आफ्नै प्रयासमा अमेरिका टूरमा बरालिएका उनले यस्ता संगीत भ्रमणबाट कल्पनै नगरेका उपलब्धि मिल्ने बताउँछन्।
उनले भने, 'यस्तो टुरमा जाँदा चर्चित अमेरिकन ब्लुज संगीतकार बड्डी गायसँगको भेट त्यस्तै अद्भूत क्षण हो।'
यी पनि हेर्नुस्ः
हजुरबुवालाई भजन, बालाई किशोरकुमार, उनलाई स्लो-रक (भिडिओ)
'गायक बन्न चिया बेचेँ, भाँडा माझेँ' (भिडिओ)
प्रेम, समर्पण, स्वतन्त्रता गाउने सिम्मा