‘आन्दोलनका शब्दहरू’ कविता सुनाउँदै कवि स्वप्निल स्मृतिले यी हरफहरू भने,
'हस्पिटल, कलेज आजकल यी शब्द सुन्दै तर्सन्छन् मान्छेहरू
बरु घाट, आत्महत्या, हृदयघात बडो सहज शब्द भएका छन्...'
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरूद्ध ठ्याक्कै मिल्दोजस्तो छ यी हरफ। हाल प्रतिष्ठानको बेथितिलाई सुधार्न र त्यहाँ भएको अनियमितता रोक्न निरन्तर आन्दोलन भइरहेको छ।
काठमाडौंबाट नागरिक आन्दोलनले पनि विरोध जनाइरहेको छ। त्यहीक्रममा शुक्रबार कवितामार्फत् विरोधको आवाज उठाउँदै भद्रकालीमा उभिएर स्वप्निलले उक्त कविता सुनाएका थिए।

विभिन्न विधाका कलालाई समेत विरोधको माध्यम बनाइँदै आएको प्रदर्शनीमा बुधबार भद्रकालीमा शिल्पी थिएटरका कलाकारहरूले विरोधस्वरूप सडकमा नाटक देखाएका थिए। बिहीबार अन्जान बाबुले गीत सुनाएका थिए भने शुक्रबार तीन कविहरूले कविता सुनाए।
ʿसरकारको नियत सच्याउन र निन्द्राबाट जगाउन आन्दोलन गर्नुपरेकोʾ बताउँदै कवि चन्द्रवीर तुम्बापोले कविताको कार्यक्रम सुरू गरेका थिए।
सुरूआतमा कविता सुनाएकी कवि बिना थिङले लैंगिक समानतासम्बन्धी कविता सुनाउँदै भनिन्,ʿबलात्कारको घटनासँग जोडिएको यो कविता निरन्तर वाचन गर्न थालेको तीन वर्ष भयो। यो कविता छिट्टै वाचन गर्न नपरोस्।ʾ

काठमाडौंबाट टाढा भएकाले आन्दोलनमा भैतिक रूपमा सधैं सहभागी हुन नसके पनि कवितामार्फत निरन्तर प्रतिरोध गरिरहेको उनले बताइन्।
कवि केशव सिलवालले पनि यो अभियानमा साथ रहेको बताए।
ʿराम राज्य हुनेछʾ शीर्षकको कविता सुनाउँदै उनले भने, ʿसत्ताले अहिले जुन राम राज्यको कुरा गरिरहेको छ, खासमा त्यो हरामहरूको राज्य हुनेछ। रामको सट्टा हराम राज्य बुझ्दै यो कविता सुनिदिनुहोला।ʾ
बिपीका बेथितिविरूद्ध कवितामार्फत विरोध गरिएको कार्यक्रममा नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थीलगायत अभियन्ताहरू ब्यानर र प्लेकार्डसमेत बोकेर प्रदर्शनीमा उत्रिएका थिए। यसरी निरन्तर आन्दोलन भएको २५ दिन भयो। तर पनि त्यहाँको अनियमितता सुधार्ने प्रयत्न भएको छैन।























