अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म 'जेरी अनटप' ले सुखद् कमाइ गरिरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले 'वर्ड अफ माउथ' पनि सकारात्मक पाइरहेको छ।
फिल्मका निर्माता सरोज न्यौपानेको दाबी अनुसार फिल्मले दुई दिनमा १ करोड ७० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। उनले भने, 'शुक्रबारको कलेक्सन करिब ८० लाख रूपैयाँ थियो। शनिबार ९० लाखभन्दा बढी छ।'
उनका अनुसार आइतबार पनि फिल्ममा दर्शकको उपस्थिति (अकुपेन्सी) राम्रो छ। 'बिहानी शोमा करिब ६० प्रतिशत थियो। अहिले बढेको छ,' कलाकारहरूसँग हल भिजिटमा रहेका न्यौपानेले बताए।
यद्यपि, कलेक्सनबारे निर्माताको दाबी कति सत्य हो भन्ने कुरा यसै भन्न सकिँदैन, किनकि चलचित्र विकास बोर्डले फिल्मको बक्स अफिसको औपचारिक आँकडा सार्वजनिक गरेको छैन।
सुयोग गुरूङ निर्देशित यस फिल्ममा अनमोल, आँचल र जसिताका साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायतका कलाकारहरूको अभिनय छ। फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथा प्रस्तुत गर्छ।
कलाकारहरू प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक भेट्न हल भिजिटमा पुगिरहेका छन्।