निर्देशक तथा पटकथा लेखक सुजित विडारीका लागि यो वर्ष सुखद रह्यो। उनले 'ऐना झ्यालको पुतली' बाट २० औं ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जिते।
अन्तर्राष्ट्रिय महोत्सवमा उत्कृष्ट निर्देशक कहलिएपछि नेपाली फिल्मी क्षेत्रमा सुजितको नामले नयाँ उचाइमा फड्को मार्यो। उनको यो सफलताले दुइटा आश पनि दिलायो।
एक, नेपाली निर्देशकले राम्रो पहिचान पाउन सक्छन्।
अर्को, यस्तै राम्रा निर्देशकका नेपाली फिल्मले संसारका विभिन्न कुनाबाट आएका फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छन्।
तर सुजित आफैंलाई यो सफलता आफ्नो पोल्टामा पर्ला भन्ने आश थिएन।
अवार्ड घोषणा गर्दाको समय सम्झिँदै सेतोपाटीसँग उनले भने, 'मैले अवार्ड जित्ने कुनै आश राखेको थिइनँ। ढाका हुँदा मैले भारतीय फिल्म पेभेल हेरेको थिएँ। त्यो भारतबाट ओस्करमा प्रतिनिधित्व गर्न छानिएको थियो। त्यसको अगाडि अवार्ड जित्नु मलाई असम्भव नै लागेको थियो।'
यसअघि 'ऐना झ्यालको पुतली' बुसान फिल्म फेस्टिभलमा पनि छानिएको थियो।
सुजितका अनुसार उनले ढाका महोत्सवमा फिल्म पठाउने फारम लकडाउनका बेला साथीहरूले सुझाएर भरेका थिए। उताबाट 'ऐना झ्यालको पुतली' लाई एसिया क्षेत्रको विधामा राख्ने भने। उनी सहमत भए।
पटकथा लेखक किरण पोखरेलको 'पुतलीको सपना' पनि उक्त महोत्सवमा मनोनयनमा परेको थियो। सुजितले अवार्ड जित्ने आश मारिसके पनि किरणसँगै बसेर घोषणा कार्यक्रम हेरिरहेका थिए।
फेसबुक लाइभ हेरिरहँदा एक्कासि सुजितले आफ्नै नाम सुने- उत्कृष्ट निर्देशक, एसियन सिनेमा।
'आफ्नै नाम सुन्दा मलाई विश्वासै भइरहेको थिएन,' सुजितले भने।
किरणले पनि 'पुतलीको सपना' बाट 'बेस्ट मिडइस्ट स्क्रिनल्याब' अवार्ड जिते। यसपछि फेसबुकमा यो सूचना सार्वजनिक गरे।
लगत्तै उनीहरूलाई बधाइको ओइरो लाग्यो।
बधाइ मात्र होइन, उत्कृष्ट निर्देशकको उपाधि पाएपछि सुजितलाई प्रश्नको पनि ओइरो लाग्न थालेको छ- कस्ता फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जित्दा रहेछन् त?
उनी भन्छन्, 'अहिलेसम्मको मेरो बुझाइमा जुन समाजको फिल्म हो, त्यहीँको जीवनशैली, सोचाइ, परम्परा, रहनसहनलाई दर्शकले त्यो ठाउँ नपुगी अनुभव गर्न सक्ने, त्यो समाजको इमानदारपूर्वक चित्रण भएको सिनेमाको अलि धेरै तारिफ हुन्छजस्तो लाग्छ।'
तर नेपाली फिल्म दशक अघिदेखि उकासिन नसकेको आरोप लाग्दै आएको छ। मौलिकपन नभएकाले कथा विशेष नहुने टिप्पणी पनि हुन्छ। अनि यदाकदा यस्ता महोत्सवमा उपाधि जित्ने फिल्मले पनि नेपाली दर्शक तान्न सक्दैनन्। त्यसैले विदेशी अवार्ड जितेका अधिकांश फिल्म यहाँ व्यावसायिक रूपमा सफल हुँदैनन्।
सुजित यसमा फिल्मलाई कुन रूपमा हेर्ने भन्ने कुराले फरक पार्ने बताउँछन्। उनका अनुसार कुनै समाजको इमानदारपूर्वक चित्रण भएको सिनेमा, त्यो समाजलाई सिनेमा हो भन्ने नै लाग्दैन। सधैं देखेर, भोगेर आइरहेको कुरा पर्दामा देखिँदा त्यसले हाम्रा दर्शकका आँखामा फिल्मको नाम पाउँदैन, बरू डकुमेन्ट्री भनिन सक्छ।
उनले भने, 'हामीकहाँ फिल्म भनेको द्वन्द्व र प्रेमका कथा मात्र हुन् भन्ने साँघुरो बुझाइ छ। यसबाट पर गएर समाजको यथार्थ, त्यहाँका मान्छे र उनीहरूको आन्तरिक विषयमा फिल्म बनाउँदा डकुमेन्ट्रीको ट्याग लाग्छ।'
यो समस्या नेपालको मात्र भने होइन। फिल्मबारे परम्परागत धारणा र अपेक्षा भएका संसारका धेरै मुलुकमा यही किसिमको सोच भएको उनी बताउँछन्।
यो वर्ष भुटानको चलचित्र 'लुनानाः अ याक इन द क्लासरूम' ओस्करका लागि छनोटमा परेको छ। दक्षिण कोरियाली फिल्म 'पारासाइट' ले ओस्करमा थुप्रै विधामा अवार्डै जितिसक्यो। जापानी फिल्म पनि पछिल्लो समय प्रतिस्पर्धामा उत्रेका छन्। यसले एसियाली फिल्महरू विस्तारै विश्वव्यापी हुँदै गएको देखाउँछ।
नेपाली फिल्मलाई अहिल्यै ओस्करको यात्रामा नसोचौं, कम्तीमा एसियामा कहाँनिर पर्छ?
सुजितले निकैबेर सोचेर भने, 'हामी निकै पछि छौं।'
उनका अनुसार हामी सिनेमाको सीमित परिभाषाभन्दा बाहिर निस्किन सकेका छैनौं। अलिकति आफ्नो कथा भन्नेबित्तिकै सिनेमा होइन भन्ने लाग्छ। यो जालोबाट हामीलाई निस्किन एकदम गाह्रो भइरहेको छ। हामी अर्थात् दर्शक, निर्माता, निर्देशक सबै।
अझ अवार्डका लागि फिल्म बनाउने चलन त नेपालमा भर्खर सुरू भएको हो। तर यसमै ढुक्क भएर लाग्ने निर्माता कम छन्। बाहिर प्रतियोगिताहरूमा छानिए पनि, अवार्ड जिते नै पनि, यसप्रकारका फिल्म बनाउन चुनौती हुन्छ। एक त बजेट अभाव, अर्को आम्दानी सुनिश्चित नहुने उनी बताउँछन्।
अहिले चलिरहेको धार र विषयमा फिल्म बनाउँदा भने लगानी सहजै जुट्छ। दर्शकले रूचाउने सम्भावना पनि बढछ, लगानी पनि उठ्छ। यही आश्वासनले भए पनि व्यावसायिक रूपमा सफल हुने फिल्म बनाउन कस्सिनेहरू नै धेरै भएको उनको भनाइ छ।
'त्यसैले एसियाली फिल्मी दुनियाँमा हामी अरूभन्दा तल छौं,' सुजितले भने, 'उनीहरूले कुनै पात्रको सानो आन्तरिक द्वन्द्वमा पूरा फिल्म बनाउन सक्छन्। हामीले बनायौं भने सिनेमा नै होइन भनिदिन्छन्।'
नेपालमा यसरी गहिराइमा सोच्ने निर्माता कम भएको र त्यसको वातावरण पनि नभएको उनको भनाइ छ।
फिल्मले विदेशी वा स्वदेशी अवार्ड जित्नुका फाइदा धेरै भएको सुजितको भनाइ छ। अझ नेपालजस्तो सानो बजारका निर्माता-निर्देशक र फिल्मले विदेशी अवार्ड जित्दा पहिचान फराकिलो हुन्छ। सम्भावनाका ढोका खुल्छन्। बजार पनि विस्तार हुन सक्छ।
त्यसैले सुजित अहिले फिल्म बनाउनमा मात्र होइन, निर्देशन सिकाउनमा पनि व्यस्त छन्। बानेश्वरस्थित एभरेस्ट फिल्म एकेडेमीमा उनी युवापुस्तालाई निर्देशन सिकाइरहेका छन्।
फिल्म बनाउने मान्छेले पढाउँदा कस्तो लागिरहेको छ त?
उनले पुराना दिन सम्झिँदै भने, 'हेटौंडामा बिएड पढिरहँदा पनि मलाई म कहिल्यै शिक्षक बन्छु भन्ने लाग्थेन।'
उनी त्यो बेला आफन्तको निर्माण कम्पनीमा काम गर्थे। अरूलाई काम अह्राउन गाह्रो मान्ने उनको स्वभाव भएकैले उनलाई त्यो काम पनि गर्न सक्दिनँ भन्ने लाग्यो।
त्यही समयमा एकदिन उनले बोरोप्लसको भारतीय विज्ञापन देखे। त्यसमा अमिताभ बच्चनको बोली नेपालीमा डब गरिएको थियो। 'बोरोप्लस मात्र आठ रूपैयाँमा' भन्ने अमिताभको आवाजलाई विज्ञापनमा लेखेको कुराले साथ दिन्थेन। आवाज पो डब भयो, भारतमै बनेको विज्ञापनको दृश्य त उही थियो जसमा मात्र रू. पाँचमा पाइने भनेर देखिन्थ्यो।
यो देखेपछि सुजितलाई लाग्यो- कम्तीमा म विज्ञापन त बनाउन सक्छु।
यही सपना बोकेर उनी हेटौंडाबाट काठमाडौं आएका थिए। घरमा भने विदेश जान तयारीका लागि आइइएलटिएस पढ्छु भने। तर काठमाडौं आएर ग्राफिक्स डिजाइन पढ्न थाले। पछि यसमै काम पनि सुरू गरे।
सुरूमा पत्रपत्रिकाका विज्ञापनमा काम गरेका उनलाई पछि टेलिभिजनका विज्ञापनमा काम गर्नुपर्छ भन्ने लाग्यो। अनि उनी टेलिभिजन विज्ञापन बनाउने ठाउँ खोज्दै जाँदा ओस्कर फिल्म कलेजमा भर्ना हुन पुगे।
यसपछि विज्ञापनमा उनी अडिएनन्, उनको यात्रा फिल्मतिर मोडियो। 'अध्याय' र 'होस्टेल' फिल्ममा मुख्य सहायक निर्देशकको काम गरे। त्यसपछि 'लालपुर्जा' को स्क्रिप्ट लेखे। अनि 'जेरी' मा उनले सह-निर्देशक भएर काम गरे।
यसरी सुरू भएको फिल्मी यात्राले अहिले उनलाई विदेशी प्लेटफर्महरूमा डोर्याउँदै लगेको छ। पश्चिमी समाजमा आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेका बालबालिकाको कथा समेटेको 'ऐना झ्यालको पुतली' को उडानले सुजितको पहिचानलाई पनि नयाँ उचाइ दिएको छ।