नेपाली र्याप रियालिटी शो 'नेपहपको श्रीपेच' को तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको छ। अघिल्ला दुई सिजनको  सफलतापछि 'नेपहपको श्रीपेच ३' ले डिजिटल अडिसन पनि सुरू गरेको छ।
शुक्रबार एक कार्यक्रमकाबीच शोको घोषणासँगै डिजिटल अडिसन पनि खुला गरिएको हो। इच्छुक प्रतिस्पर्धीहरूले आगामी कार्तिक २५ गतेसम्म अडिसनका लागि आवेदन दिन सक्नेछन्।
नेपाली टेलिभिजन रियालिटी शोहरूमध्ये र्याप विधामा 'नेपहपको श्रीपेच' एक स्थापित नाम हो। 'नेपहपको श्रीपेच ३' मा डिजिटल र फिजिकल दुवै माध्यमबाट अडिसन लिइनेछ। सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले www.nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन्। साथै, नेपहपको श्रीपेचको आधिकारिक फेसबुक पेज, ह्वाट्सएप नम्बर इमेलमा पनि भिडिओ पठाउन सकिनेछ। प्राप्त अडिसन भिडिओहरूमध्येबाट उत्कृष्ट प्रतिस्पर्धीहरूलाई जज राउन्डका लागि छनोट गरिनेछ।
यस सिजनको विजेताले नगद १० लाख रूपैयाँ, वर्ल्ड टुरको अवसर र विभिन्न ब्रान्ड इन्डोर्समेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले भने नगद ५ लाख रूपैयाँ र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्।
'नेपहपको श्रीपेच' को पहिलो संस्करणको विजेता भाइबर साइमन हुन् भने दोस्रो सिजनको विजेता योङ्ग वेभ हुन्।
दामी मिडियाको प्रस्तुति रहेको यस कार्यक्रमको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन्।
अघिल्लो संस्करणमा मानस घले, गिरीश खतिवडा र महेश तामाङ 'दोङ' निर्णायक रहेका थिए। यस सिजनका लागि हाल मानस घले र गिरीश खतिवडालाई निर्णायकका रूपमा सार्वजनिक गरिएको छ भने तेस्रो निर्णायक चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
कार्यक्रमको कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् भने निर्देशन टिमको नेतृत्व विक्रम खनालले गर्नेछन्।
'नेपहपको श्रीपेच ३' मंसिर अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ।