किम्फ विशेष
काठमाडौंमा १४ वर्ष बिताएका गोपाल आचार्य एकचोटि घुम्दै घुम्दै रसुवा पुगेका थिए। त्यहाँ उनले झारफुक गर्ने धामीझाँक्री भेट्ने मौका पाए।
ती धामीहरू बढ्दो उमेर र घट्दो इच्छाले पुर्ख्यौली काम छाड्न लागेका थिए। गोपाललाई उनीहरूको जीवनकथा संसारसामु देखाउन मन लाग्यो।
यहीँबाट सुरू भयो गोपालको 'आखत' यात्रा।
आखतको अर्थ हो, जोखना हेर्नु। किम्फमा शुक्रबार प्रदर्शन हुने यो छोटो फिल्म जोखना हेर्ने धामीझाँक्रीको जीवनसँग सम्बन्धित छ।
झारफुक गर्नेहरूसँग गोपालको बाल्यकालीन नाता छ। उनी प्यूठानको ऐरावती गाउँपालिकामा जन्मे-हुर्केका हुन्। उनी जन्मँदा गाउँमा अस्पताल थिएन। बिजुली पनि थिएन। त्यस्तोमा धेरै बिरामी परिरहने गोपाललाई फुकफाक गरेर निको पार्ने भनेका उनका मितबुवा थिए, जो धामी काम पनि गर्थे।
रसुवाबाट फर्किएपछि गोपालले उनै मितबुवालाई लिएर फिल्म बनाउने निर्णय गरे।
सधैं सहरको भिडमा दौडिरहेका उनी आफ्नै गाउँको परिवेशमा फिल्म बनाउने भनेर प्यूठान पुगे। जान त गए तर फिल्म बनाउन सोचेजस्तो सजिलो भएन। उनले धामीझाँक्रीको जुन कर्म फिल्ममा उतार्न चाहेका थिए, गाउँलेहरूले त्यो क्यामरामा देखाउन आनाकानी गरे।
सबभन्दा ठूलो कुरा त, आफ्नै मितबुवालाई फिल्मबारे बुझाउन उनलाई गाह्रो भयो। सुरूमा त उनले फिल्ममा काम गर्दिनँ भनेर ठाडै अस्वीकार गरे। तर गोपालले हार मानेनन्।
निकै करकापपछि मितबुवालाई फिल्मको पात्र बन्न करै लाग्यो।
'उहाँ धामी भएर यसरी फिल्म खेल्नु हुँँदैन, पाप लाग्छ भनेर डराउनुभएको थियो। बिरामी अगाडि नहुँदा म यसै कामेको नाटक गर्न सक्दिनँ पनि भन्नुभएको थियो। बिस्तारै बुझाउँदै गएपछि उहाँले मान्नुभयो,' गोपालले भने।
उनका मितबुवा पहिलोपटक क्यामराअगाडि उभिँदा निकै लजाए। १८ टेक लिँदा पनि कथाको पात्र बन्न उनलाई हम्मेहम्मे पर्यो। गोपालले लगातार कोसिस गर्दै आखिर उनलाई सिकाएरै छाडे।
गोपालले आफ्नै गाउँ अनि आफ्नै घरमा छायांकन गरेको हेर्न गाउँभरिका मान्छे जम्मा भएका थिए। गाउँलेहरूको भीडभाडले सुटिङमा थप अप्ठ्यारो पर्यो। एक्लै हुँदा त कथाको पात्रमा घुस्न नसकेका मितबुवा गाउँलेहरू वरिपरि गुजुम्म भेला भएपछि झनै लजाए।
यही क्रम जारी रहे काम सक्न महिनौं लाग्छ भन्ने बुझेर गोपालले सुटिङ हेर्न आएका गाउँलेलाई सम्झाइबुझाइ गरेर फर्काइदिए।
फिल्मको एउटा दृश्यमा धामी पात्रले 'अब मेरो शक्तिले भ्याउँदैन, बिरामीलाई बचाउनुछ भने अस्पताल लैजाऊ' भनेर भन्नुपर्ने थियो। तर मितबुवाले एकाएक 'अब म फिल्ममा काम गर्न सक्दिनँ' भन्न थाले। क्यामरा खोलेर ठिक्क परेका गोपाल र उनका साथीहरू दोधारमा परे।
गोपालले आइडिया फुराए। भिडिओ नखिचे पनि संवाद रेकर्ड गरौं भनेर मितबुवालाई मनाए।
'उहाँले धेरै मान्छे भएको ठाउँमा त्यही संवाद पनि बोल्न रूचाउनुभएन। कोठामा लगेपछि बल्ल मान्नुभयो। त्यसपछि हामीले काम अघि बढायौं,' उनले भने।
यसरी खिचेको भिडिओ छ महिना लगाएर सम्पादन गरियो। मगर समुदायमा हुर्किएका गोपालले कथाको पात्र मगर समुदायकै राखेका छन्। पात्रहरूले मगर भाषा नै बोल्छन्। नेपाली भाषा प्रयोग गर्दा पात्रहरूमाथि अन्याय हुने भएकाले जुन भाषा बोल्न सहज हुन्छ त्यही प्रयोग गरिएको गोपाल बताउँछन्।
अन्धविश्वासका रूपमा लिइने धामीको कथा नै किन रोजेको भन्ने प्रश्नमा उनी भन्छन्, 'मैले के गलत र के सही भनेर बुझाउन खोजेको होइन। धामीको मनोविज्ञान बुझाउन खोजेको हो। धामी भएपछि उसले आफूलाई के सोच्छ अनि धामीहरू कसरी आफ्नो पेसा छाड्ने अवस्थामा पुगे भन्ने कथा फिल्मले भन्छ।'
पछिल्लो समय दुर्गम ठाउँमा पनि स्वास्थ्य उपचारको चेत बढ्दै गएको छ। बिरामी झारफुक गर्ने धामीलाई पनि आफ्नो कामप्रति विश्वास घट्दै गएको छ। त्यही भएर लामो समयदेखि गर्दै आएको धामी पेसा चटक्कै छाड्ने बेला उनीहरूको अनुहार, हिँडाइ, बोलाइ र बानी व्यवहार के–कस्तो हुन्छ भन्ने कथाले बुन्न खोजेको गोपाल बताउँछन्।
यति मात्र होइन, कोरोना महामारीका कारण आखत अर्थात् झारफुक डेढ वर्ष रोकिएको थियो। यसबीच गोपाललाई आफूले गरेको काम राम्रो छ कि छैन चाँडै प्रतिक्रिया पाए हुन्थ्यो भन्ने भयो। त्यसैले पनि उनले आफ्नो फिल्म विभिन्न महोत्सवमा पठाए। यसपालि 'नेपाल सांस्कृतिक फिल्म महोत्सव' ले पनि यो फिल्म छानेको छ।
पन्ध्र वर्ष उमेरमा काठमाडौं प्रवेश गरेका गोपाल सानैदेखि फिल्म हेर्न रूचाउँथे। एसएलसी सकिएपछि उनले विज्ञान पढे। फिल्म हेर्ने बानीका कारण उनलाई स्नातकमा फिल्म नै पढ्ने रूचि थियो। तर परिवारले असहमति जनाएपछि उनले बिएससी पढे।
बिएससी सकेपछि भने उनी फिल्म कलेज भर्ना भए। कलेजको औपचारिक पढाइले उनलाई संसारभरका फिल्मबारे बुझ्ने अवसर दियो।
'संसारमा के-कस्ता फिल्म बन्छन् वा बनिरहेका छन् भन्ने थाहा भएपछि मैले सहरभन्दा गाउँमा लुकेको कथा खोज्न थालेँ,' उनले भने।
हरेक दिनजसो नयाँ फिल्म हेर्ने गोपाललाई नेपाली फिल्मको दायरा फराकिलो हुनुपर्छ भन्ने लाग्छ। यसको निम्ति नेपाली फिल्मले समाजको मौलिक कथावस्तु टिप्नुपर्ने उनी बताउँछन्। 'मौलिक कथाहरू सहरमा भन्दा गाउँमा हुन्छ,' उनले भने, 'मलाई पनि सहरभन्दा गाउँकै मौलिकतालाई बढी प्राथमिकता दिएर काम गर्न मन छ।'
गोपाल आचार्यले हालसम्म ४० वटा छोटा फिल्ममा काम गरिसके। उनलाई छोटा फिल्मबारे धेरै अनुभव छ। उनले करिब दुई दर्जन म्युजिक भिडिओ पनि बनाइसकेका छन्। आखतसहित चारवटा छोटा फिल्म निर्देशन गरिसकेका छन्। पछिल्लो समय उनले बाग्लुङको संस्कृतिसम्बन्धी वृत्तचित्रमा काम गरे। आगामी दिनमा उनी लेखन र निर्देशनलाई बढी प्राथमिकता दिएर अघि बढ्न चाहन्छन्।
'धेरै फिल्ममा काम गरे पनि आखतले नै मलाई फिल्म बनाउने मान्छेका रूपमा परिचय दिएको छ। राम्रा राम्रा महोत्सवमा मेरो फिल्म छानिएकाले झनै हौसला बढेको छ,' उनले भने।
किम्फ विशेषका यी स्टोरी पनि पढ्नुहोस्ः
किम्फलाई २२ वर्षको बनाएर बिदा हुन लागेका बसन्त
'हेर्ने कथा' खोज्दै जाँदा भेटिएको 'बाघको बंगारा'
छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु