गायक स्वप्न सुमन र समीर श्रेष्ठको नयाँ गीत 'जे छौ तिमी' अहिले युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ।
यो गीत स्वप्न सुमनले आफ्नी श्रीमती 'जो-जो' अर्थात ज्योत्सना योगीका लागि लेखेका हुन्।
प्रायः मानिसको स्वभाव हो आफ्नो बाहिरी स्वरूपलाई लिएर चिन्तित हुने। झन् अभिनेत्री पनि रहेकी ज्योत्सना आफ्नो रूपलाई लिएर निकै सचेत हुन्छिन्।
एक दिन स्वप्न र ज्योत्सना एउटा कार्यक्रममा जाने तयारीमा थिए। त्यत्तिकैमा ज्योत्सनाले गाजल (आइलाइनर) लगाउन छुटाइछिन्। यसकारण उनीहरू घरबाट निस्कन ढिला भए।
ज्योत्सनाले आइलाइनर लगाउँदै गर्दा स्वप्नले आफ्नो गितार समाए।
त्यही बेला उनलाई केही लाइन फुर्यो-
'गाजल त्यो तिम्रो मेटाइदेऊ न
तिम्रो आँखाको रङ हेर्न मन छ
बाँधेको केश फुकाइदेऊ न
हावाले उडाएको मनपर्छ
नढाक न मुहार शृंगारले
चन्द्रमामा पनि दाग हुन्छ...'
स्वप्नले गुनगुनाउँदा ज्योत्सना भावुक भइन्। यो देखेर स्वप्नलाई राम्रो गीत लेखेको आभाष भयो। अनि उनी गीत पूरा गर्नतिर लागे। गीत सार्वजनिक भएपछि श्रोताहरूबाट यति धेरै माया र प्रशंसा आउँछ भन्ने स्वप्न सुमने कल्पना गरेका थिएनन्।
'समिरसँगको पहिलो सहकार्य भएकाले उत्साहित थिएँ,' उनले भने, 'तर गीतले यति धेरै माया र प्रशंसा पाउँछ भनेर सोचेको थिइनँ।'
गीतले प्राकृतिक सुन्दरता अँगाल्न सन्देश दिएकोमा आफू खुसी भएको उनले बताए।
एक टेकमा पूरा भएको यो गीतको भिडिओमा समिर र स्वप्नले सँगै गाएका दृश्य छ। गीत अभ्यासका क्रममा दुवैले 'लाइन-बाइ-लाइन' गाउँदा राम्रो सुनिएपछि स्वप्नले यसरी नै गीत रेकर्ड गराए।
समिर अमेरिका जानुपरेकाले उनको रेकर्ड पहिले गरियो। स्वप्न सुमनले स्टुडियो बाहिरबाट उनलाई प्रेरित गरिरहे।
'मन पराएको मान्छे अगाडि बसेर गाए जसरी गाऊ भनेर हामीले समिरलाई स्टुडियो बाहिरबाट भन्दै थियौं,' उनले भने, 'उसको आवाजको ध्वनि हामीलाई एकदमै मनपर्यो। अनि यसरी हामीले यति राम्रो गीत बनायौं।'
संगीतलाई जीवनकै अंग मान्ने स्वप्न सुमनका सबैजसो गीत हिट छन्। सानै उमेरमा भजन गाएर सांगीतिक यात्रा सुरू गरेका उनको अहिले आफ्नै ब्यान्ड छ। उनले स्टुडियोमा पहिलोपटक रेकर्ड गरेका कभर गीत थियो रोहित जोन क्षत्रीको 'बिस्तारै बिस्तारै'। आफ्नै आवाज हेडफोनमा सुनेर दंग परेको उनलाई अझै याद छ।
'आफ्नो पहिचान बनाउनुअगाडि मलाई गाउन आउँछ भनेर दर्शक/स्रोतालाई थाहा दिन जरूरी थियो। त्यसैले कभर गीतबाट सांगीतिक यात्रा थालेँ,' उनले भने, 'नेपाली संगीत क्षेत्रमा केही गर्ने हुटहुटीले मैले आफ्नो गीतहरू लेख्न र गाउन सुरू गरेँ।'
स्टुडिओमा रेकर्ड गरिएको स्वप्नको पहिलो मौलिक गीत थियो- 'के साह्रो राम्री भाको'। उनको मौलिक गीतलाई पनि दर्शकले मनपराए। उनले मौलिक र कभर गीत गाउने क्रम जारी राखे।
करिअरको एउटा बिन्दुमा उनले बार-रेस्टुरेन्टमा गाउन थालेका थिए। त्यहीँ उनको भेट 'च्यानल आर्ब्रिटरी' का सदस्यसित भयो। तीन वर्ष आर्ब्रिटरीसित काम गरेर उनले एकपछि अर्को हिट गीत सार्वजनिक गरे। उनको 'कसरी भनौं', 'कुनै दिन-कफी सङ', 'तिम्रो र मेरो कुरा', 'कुरेर बस्छु' जस्ता गीतमा करोडौंको भ्युज पाएका छन्।
आर्ब्रिटरीबाट निस्किएपछि उनले आफ्नो युट्युब च्यानलबाट सांगीतिक यात्रालाई निरन्तरता दिए।
'यादमा राख्नेछु' उनको आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको पहिलो गीत हो। त्यसपछि क्रमशः 'फर्की आउने छु', 'तिम्रो आँखा', 'मायालु', 'बाचा भयो' हुँदै अहिले 'जे छौ तिमी' सम्मको यात्रालाई स्वप्न सुमन उतावचढावले भरिपूर्ण तर यादगार यात्रा मान्छन्।
अहिले उनी दिनेश राउतको फिल्ममा खेल्ने तयारीमा छन्। करिअरको दस वर्ष संगीत मात्र गरेका उनका लागि फिल्म केही नयाँ अनुभव हुने उनले बताए। साथै आगामी दिनमा अरू मौलिक गीत र नयाँ गायकसित सहकार्य गर्न उनी सकारात्मक छन्।
'केही समय म फिल्म र म्युजिक भिडिओहरूकै काममा व्यस्त छु,' स्वप्न सुमनले आफ्नो भावी योजना सुनाउँदै भने, 'मेरो मौलिक गीत लिएर आउँछु। अन्य संगीतकारसँग सहकार्य गरेर प्रस्तुत हुने प्रयासमा छु।'
संगीतमा करिअर बनाउने सपना भएकालाई निर्धक्क भएर लाग्न उनी सुझाउँछन्।
'मैले आजसम्म संगीतबाहेक केही गरेको छैन। मेरो जीवन राम्रै चलेको छ,' स्वप्न सुमनले, 'म संगीत गरेर बाँच्न सक्छु भने अरूले पनि सक्छन्। इमानदार भएर काम गरे फल अवश्य पाइन्छ।'