परदेशमा रहेका आफन्तको खबर पर्खिबसेका परिवारजनका लागि चिठी भनेको खबर मात्र होइन, बाँच्ने आशा पनि हो।
फिल्म 'हल्कारा' ले यस्तै आफन्तको कथा भन्छ जो खबर पर्खेर बसेका छन्। यो फिल्म श्रीमान परदेशमा रहेका बखत चरित्रमा खोट लगाउनेहरूका विरूद्ध विद्रोही महिलाको कथा पनि हो।
यो कथा भन्ने मुख्य पात्र हुन् मियाकुमारी र मियाकुमारीको भूमिकामा छिन् विनिता थापामगर।
चार वर्षअघि विनितालाई एकजना निकट साथी उमेशले एउटा मेसेज पठाए। मेसेजको मजबुन थियो– एउटा फिल्म आउँदैछ, धेरैले अडिसन दिएका छन्, तिमी पनि दिन्छ्यौ कि!
बेकाम समय यस्तो खबर आउनु खुसीको कुरा थियो तर फिल्मको कथा थाहा नभई अडिसन दिने उनको स्वभाव थिएन।
'त्यति बेला घरमै थिएँ। सधैं व्यस्त हुने कलाकारहरू पनि काम नपाएर घरमै थिए। कोरोनाले गर्दा काम पाउन मुस्किल थियो,' उनले भनिन्, 'अडिसनमा बोलाए भन्दैमा गइहाल्ने स्वभाव नहुँदा अलमलमा परेँ।'
फिल्मको कथा र अन्य परिवेश उपयुक्त भए मात्र अडिनसनमा जाने उनको स्वभाव छ।
'म अलि छनोटमा ध्यान दिने खालको छु। मन परेको मात्रै गर्छु, पैसा पाएँ भन्दैमा हुँदैन। मलाई सबै कुरा चित्त बुझ्नुपर्छ। निर्देशकको उद्देश्य, फिल्मको कथा सबै कुरा मिलेको हुनुपर्छ,' उनले भनिन्।
उमेशले एक पृष्ठमा सरल तरिकाले लेखिएको कथाको सार पठाए। विनितालाई कथा मन पर्यो।
उनले पहिलोपटक आफूलाई मन परेको र अभिनय गर्न चाहेको कथा पाएकी थिइन्। अडिसनको तयारीमा लागिन्।
पहिलो चरणको अडिसनका लागि कलाकार आफैंले आफ्नो भिडिओ बनाएर पठाउनुपर्थ्यो। उनले फिल्मको कथाअनुसार पात्रलाई मिल्ने उपयुक्त पोशाक खोजिन्। गिटी कुट्दै गरेकी महिलाको परिधानमा भिडिओ तयार गरिन्।
यसरी उनले अडिसनका लागि भिडिओ पठाइन्। परिणाम के आऊला भन्ने लागेको थियो। उनमा अलिकति छटपटी पनि बढेको थियो। कथा औधी मन परेका कारण त्यस्तो भएको थियो।
एक हप्तापछि उनले भिडिओ स्वीकृत भएको खबर पाइन्। मनमा खुसी छायो, छटपटी केही कम भयो। दोस्रो चरणको अडिसन तयारी गर्न फिल्मको टिमसँग भेट्नुपर्थ्यो।
'तपाईंले पठाएको भिडिओ अडिसन एकदम राम्रो छ। हामी तपाईंलाई छिटै भेट्छौं भन्ने खबर आयो,' उनले भनिन्, 'फिल्मको टिमले यसो भनेपछि आशा बलियो भयो। अडिसन पर्खेर बसेँ।'
फिल्मको कथा चल्तीको भन्दा भिन्न थियो। उनी कथाबाटै लोभिएकी थिइन्।
'सामान्यतया नेपाली फिल्ममा हिरो–हिरोइनको लभ पर्ने, छुट्टिने, फेरि भेटिनेजस्ता कथा हुन्छन्,' विनिताले भनिन्, 'हल्कारा कथाले समाजमा चेतना र विद्रोहरूको कुरा बुझाउन खोजेको थियो। यही कारण मैले अडिसनमा जोड दिएकी थिएँ।'
दोस्रो अडिसनमा उनले महेश त्रिपाठीलाई भेटिन्। महेश पनि फिल्मको अर्को मुख्य पात्र छनौट भएका थिए। त्यही बेला महेश र विनिताको सामञ्जस्य (केमेस्ट्री) परीक्षण भयो। जोडी मिलेको निष्कर्ष आयो।
यतिले मात्रै छनौट पूरा भएन। तेस्रो अडिसनमा दुवै मुख्य पात्रको क्यामरा जाँच भयो। क्यामरा अगाडिको संवाद परीक्षण भयो।
बल्ल अडिसन पूरा भयो। विनिता अभिनयका लागि छानिइन्।
यसपछि तीन महिनाको वर्कसप (कार्यशाला) भयो। वर्कसपमा ग्रामीण परिवेश, ग्रामीण महिलाको आनीबानी र बोलीचाली, संवाद लगायतको सिप सिकाइयो। गाउँले महिलाको हिँडाइ, व्यवहार, भावुकता, पीडा, अनुहारको झलक जस्ता कुरामा वर्कसपमा अभ्यास भयो। एक महिना त फिल्मको कथा मात्र पढ्न लगाइयो। दिनभरि कथा पढ्नुपर्थ्यो।
विनिताका अनुसार फिल्मको टिम एकदमै सहज र संवेदनशील थियो। महिला कलाकारप्रति सम्मान थियो। महिलाका लागि अनुकूल वातावरण थियो। वर्कसपपछि उनले घरमै आफ्नो संवाद र अभिनयको अभ्यास गरिन्। फिल्मको कथाले मागेअनुसार तयार हुन अनेकपटक अभ्यास गरिन्। आफ्ना हरेक गतिविधिमा कथाको पात्र बन्ने प्रयास गरिन्।
उनले धेरै अभ्यास गरेको अंश चिठीसम्बन्धी संवाद थियो। आँखा आँशुले भरिएका र स्वर भक्कानिएको हुनुपर्थ्यो। यस्तो अवस्थामा वृद्धा आमालाई चिठी पढेर सुनाउनुपर्थ्यो।
उनले भनिन्, 'म गाउँमा जन्मिएकी मान्छे, वर्कसपमा धेरै पात्रको कथा बुझ्न पाएकी थिएँ। अभिनय पनि सहज भयो।'
सुटिङ सुरू भयो। उनको ध्यान चिठी पढेर सुनाउने दृश्यमै थियो। यो दृश्यको सुटिङ एक टेकमै ओके भयो। फिल्मका निर्देशक विक्रम सापकोटालाई पनि विनिताको अभिनयकलामा गौरव छ।
'फिल्ममा विनिता र महेशलाई छनौट गर्नु मेरा लागि ठूलो सफलता होर उहाँहरूकै अभिनयले उत्कृष्ट फिल्म बन्यो,' उनले भने, 'रंगमञ्चबाट फिल्ममा आएकी विनितामा कलाकारमा हुनुपर्ने सबै गुण छ। उनले जीवन्त अभिनय गरेकी छन्।'
विनितालाई फेरि पनि मौका दिने उनको चाहना छ।
चिठी त मान्छेको बाँच्ने आशा रहेछ। जमाना हुलाकबाट चिठी पठाउने रहेन। इन्टरनेटको विकासले छिनछिनमै कुरा हुने बनाइदिएको छ, आमनेसामने बसेर गफ गरेजस्तै। कुनै जमाना त चिठीकै भरमा थियो। महिना दिनभन्दा बढी समय लगाएर हुलाकबाट चिठी आउँथ्यो। हल्काराले चिठी ल्याउँथे। घरमा चिठी पढ्न जान्ने मान्छे पनि नहुन सक्थ्यो। कतिघरमा त हल्काराले नै पढेर सुनाइदिन्थे। कसैले छरछिमेमा पढ्न जान्ने मान्छे खोज्थे।
फिल्म हल्कारामा यस्तै पढ्न जान्ने मान्छे हुन् मियाकुमारी।
विनिताले भनिन्, 'अहिले फिल्मबाट थाहा भयो, चिठीको पर्खाइ कस्तो हुँदो रहेछ भन्ने कुरा। खुसीको होओस् कि दुःखको, पर्खाइ एकदमै लामो हुनेरहेछ।'
सबै मानिसको भावुकता प्रायः एकै किसिमको हुन्छ। रूँदा सबैको आँखामा आँशु आउँछ तर आफूलाई अरूमा ढालेर कथा जस्ताको तस्तै भन्नु चाहिँ निकै चुनौतीपूर्ण हुन्छ।
'कलाकारले आफूमा कथाको पात्रको भाव सिर्जना गर्न सक्नुपर्छ,' उनले भनिन्, 'खासमा त म विनिता हुँ, मियाकुमारी होइन तर मियाकुमारीको कथा भन्न म मियाकुमारी नै हुनुपर्थ्यो। उनको दुःखपीडा, खुसी मेरो आफ्नै भावमा समेट्नुपर्थ्यो। मैले त्यसरी नै कथा भनेँ।'
छायांकन सकिएपछि फिल्म प्रदर्शन हुन झन्डै चार वर्ष लाग्यो। उनका लागि यो पर्खाइ पट्यारलाग्दो भइदियो।
अन्ततः एक दिन उनले प्रदर्शनमा आएको आफ्नो पहिलो सिनेमा 'हल्कारा' हेर्न पाइन्। पहिलोपटक आफ्नो अभिनय पर्दामा हेर्दा हर्षको आँशु झर्यो।
'मैले अरू फिल्ममा पनि अभिनय गरेको थिएँ तर हलमा प्रदर्शन भएनन्। हलमा गएर हेर्न पाउँदा खुसीको सीमा रहेन। ममा ऊर्जा थपिएको छ,' उनले भनिन्।
फिल्म प्रदर्शनपछि उनको अभिनयको प्रशंसा भएको छ। आफूलाई मन परेको कथामा गरेको अभिनयमा दर्शकको सकारात्मक प्रतिक्रियाले उनी खुसी छिन्।
हल्काराले धेरै हलमा ठाउँ पाएको भए हुन्थ्यो भन्ने उनलाई लागेको छ। तैपनि चित्त बुझाएकी छन्, 'पैसा कमाउनु मात्र ठूलो कुरा होइन, कलाकारका लागि आफ्नो नाम र छाप ठूलो कुरा हो।'
विनिताले घरपरिवारबाट पनि प्रोत्साहन पाएकी छन्। फिल्म हेरेर आमाबुबाले 'स्याब्बास, निरन्तरता देऊ' भनेको उनले बताइन्। रंगमञ्चबाट फिल्मसम्मको फड्को मार्न पनि उनले निकै मेहनत गरिन्। परिवारको सहयोगले कलायात्रा अझै सहज बनाइदियो।
'अभिभावकले मैले चाहेको काम गर्न नदिएको भए आज म फिल्ममा हुने थिइनँ। मेरो चाहना बुझिदिनुभयो, यसमा मलाई गर्व छ,' विनिता भन्छिन्, 'सबै आमाबुबाले छोराछोरीको भावना बुझेर सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ।'
उनी गुरूकुल नाटकघरबाट रंगमञ्चमा प्रवेश गरेकी हुन्। सानो उमेरदेखि नै नाच्न, गाउन, अभिनय गर्न मन लाग्थ्यो। जन्मथलो पोखरा भए पनि उनले प्राथमिक कक्षादेखि नै काठमाडौंमा पढेकी हुन्। नौ कक्षा पढ्दैदेखि नाटकघर गइन्। निर्देशक अनुप बरालको अभिनय कक्षा लिइन्।
एसएलसी दिएपछि उनी भविष्यको मार्गबारे अलमलमा थिइन्। कलाकार बन्ने कि; नर्स, डाक्टर बन्ने कि; गायक बन्ने कि; नाच्ने कि! मनमा यस्तै कुरा खेल्थ्यो।
अन्ततः उनले अभिनयकलालाई नै लक्ष्य बनाइन्।
'कलाकार सधैं जीवित हुन्छ। कलाकार फिल्ममा हुन्छ, फिल्म कहिल्यै मर्दैन अनि कलाकार पनि मर्दैन,' उनले अभिनयमै लाग्नुको कारण खुलाइन्।
उनको विचारमा कलाकार भनेको पानीजस्तै हो। जसरी पानीले भाँडाको आकार बनाउँछ त्यसरी नै कलाकारले आफूलाई पात्रमा ढाल्छ। यसरी ढालेपछि मात्रै अभिनय जीवन्त हुन्छ। उनी यही सिद्धान्तमा काम गर्छिन्।
यो क्षेत्रमा लाग्नु सहज नभएको भने छैन।
'छोरीले अभिनयमा लाग्छु भन्नु पनि सजिलो छैन, दिन–रात नभनी सुटिङमा दौडिनुपर्छ,' उनले भनिन्, 'यस्तो कुरामा हाम्रो समाज पनि सकारात्मक छैन। मैले पनि केही कठिनाइ सामना गर्नुपर्यो। परिवारबाट सहयोग पाएर अघि बढ्न सकेँ।'
उनले 'इनसाइड द ब्रेन' नाटकमा पहिलोपटक मुख्य पात्रको भूमिका पाइन्। यसपछि 'देउरालीडाँडी', 'दाँतको डोब', 'मनमाया हराइन्', 'दिल्ली टु दुबई', 'ब्रिफ क्यान्डल' लगायतमा अभिनय गरिसकिन्। विदेशी निर्देशक माइकल रोथको नेपाली फिल्म 'शाम्भाला' मा पनि अभिनय गरेकी। यो प्रदर्शन भएको छैन।
विनिताले अनुप बरालद्वारा निर्देशित फिल्म 'दोख' मा बन्दुक समातेकी महिलाको छोटो अभिनय गरेकी छन्। पहिलो फिल्म त 'शुन्य' हो तर बाह्र वर्षअघिको अभिनय। फिल्म अझै प्रदर्शन हुन सकेको छैन।
हलमा चलेको उनको पहिलो फिल्म 'हल्कारा' नै हो।
उनले नाटकको र फिल्मको अभिनयमा धेरै भिन्नता अनुभव गरेकी छन्।
भन्छिन्, 'दुवैतर्फ अभिनयमा आआफ्नै विशेषता छन्। राम्रो अभिनय गर्न कथाको राम्रो अध्ययन र मेहनत आवश्यक पर्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी