फिल्मका कलाकार होऊन् वा गायक। क्रिकेटर होऊन् वा काठमाडौंका मेयर। नयाँ पुस्ताका सेलेब्रेटी होऊन् वा पुराना। सबैलाई आफ्नो कार्य्रकममा बोलाएर रमाइलो गराउन खप्पिस छन् उत्सव रसाइली।
उसो त उनी पाहुना बोलाउँदैनन् मात्र, यी सेलेब्रेटीका निजी र पेसागत प्रायः उत्सवमा पाहुना भएर पनि पुग्छन्। चाहे कसैको बिहे होस् वा जन्मदिनको भोज। कलाकारहरूको सामान्य जमघटमा पनि उनी रमाउँछन्। विशेषगरी महिला सेलेब्रेटीहरू उनीसँग कुरा गर्न सहज मानेको देखिन्छ।
हँसिलो, फरासिलो र मिलनसार; यो उत्सवको विशेषता हो। उनी सार्वजनिक रूपमा कसैलाई नराम्रो भनिहाल्दैनन्। आफूलाई लागेको तीतो ओकल्दैनन्। कुनै विषयबारे बोल्नुपरे मिलाएर व्याख्या गर्छन्।
यही विशेषतालाई 'रमाइलो छ' कार्यक्रमका प्रस्तोता उत्सव आज आफैं सेलेब्रेटी बनिसकेका छन्।
केही समयअघि मात्र उनी एक पडकास्ट कार्यक्रममा पाहुना भएर गएका थिए। त्यस दिन भने उनले यावत कुरासँगै आफ्नो वास्तविक पहिचान पनि सार्वजनिक गरे।
उनी समलिंगी पुरूष हुन्।
'मेरो पहिचानबारे सार्वजनिक भएपछि धेरैले सकारात्मक प्रतिक्रिया दिनुभयो। स्कुल-कलेजका साथीहरूले तिमी राम्रो गर्नु, तिम्रो साथी हुन पाउँदा गर्व लाग्छ भन्ने म्यासेजहरू पठाए। यी सब पढ्दा म खुसीले भक्कानिएँ,' ३२ वर्षीय उत्सवले करिब एक महिनाअघिको त्यो क्षण सम्झिँदै भने।
निजी जिन्दगीबारे सार्वजनिक रूपमा खुल्न उनलाई त्यति सजिलो थिएन। यसका निम्ति उनले लामै समय प्रतीक्षा गरे। थुप्रै अप्ठ्यारा र सजिला परिस्थिति सामना गरेपछि अहिले गर्वका साथ आफूलाई समलिंगी पुरूष भन्न रूचाउने भएका हुन्।
'तपाईंको कुरा कसैले सुन्छ भने सुनाउनुहोस्। मैले पनि मान्छेले सुन्न चाहेरै यो कुरा भनेको हुँ,' उनले भने, 'मलाई सुनाउन मन थियो तर सुन्ने मान्छे भेट्न पर्खिनुपर्यो। यतिन्जेल संघर्ष गरेँ र पो अहिले मेरो कथा सुन्ने मान्छेहरू भेटेँ। यो यात्रा तय नगरेको भए सायद मलाई कसैले सुन्ने थिएनन्। त्यसैले मलाई लाग्छ मान्छेले आफूलाई कामले चिनाउनुपर्छ। आफ्नो क्षमतालाई ध्यान दिएर अघि बढ्नुपर्छ। कोही पनि ह्वात्तै अगाडि आउन सक्दैन।'
उनलाई आफू अरू पुरूषभन्दा अलग छु भन्ने अनुभूति सात कक्षा पढ्दादेखि नै भएको थियो। उनी किशोरावस्थामा प्रवेश गर्दै थिए।
एक दिन कक्षा सकिएपछि स्कुलको चउरमा हिँडिरहेका बेला अचानक एक साथीले भने, 'ओइ तँ कस्तो केटी जसरी हिँडेको, केटा जसरी हिँड् न!'
साथीको यो कुराले उनी झस्किए — ला के भयो यस्तो, केटा र केटीको हिँडाइ पनि फरक हुन्छ र!
उनलाई अचम्म लाग्यो। १४ वर्षका त थिए, साथीको कुरा गहिरोसँग बिझ्यो।
'मलाई त म सामान्य मान्छे नै हुँ भन्ने थियो तर अरूले फरक देखे। साथीले त्यसो भनेपछि मलाई आफैं देखेर अचम्म लाग्न थाल्यो। अबदेखि केटा जसरी हिँड्छु भन्ने भयो। पछि फेरि मलाई हेपेका हुन् कि भन्नेजस्तो पनि भयो।'
साथीको कुराले उनी आफ्नो हिँडाइमा सजग हुन त खोजे, तर उनीभित्र जे छैन त्यो बाहिर आएन। जसरी सहज लाग्यो, त्यसरी नै हिँडे। साथीको कुराले उनको मन भने असहज बनाइरह्यो, खुलदुली बढायो। उनले पत्रपत्रिकाहरू खोजेर पढ्न थाले। केही सामग्री भेटे पनि, तर सबै कुरा बुझ्थेनन्।
काभ्रेपलाञ्चोकका उत्सव त्यो बेला काठमाडौंमा सिविन नेपालको होस्टलमा बस्थे। पढाइको चटारोले यसबारे धेरै सोच्ने फुर्सद भएन। संस्थाभित्र भने स्कुलमा जस्तो उनलाई कसैले जिस्क्याउँदैन थियो। उनी सबैका प्रिय थिए।
'मलाई सबैले माया गर्नुभयो। म सफासुग्घर गर्थेँ। समयमा उठ्थेँ। राम्रोसँग पढ्थेँ। अनुशासित थिएँ,' उनले भने।
उत्सवले स्कुल पढ्दै गर्दा द्वन्द्व प्रभावित बालबालिकाहरूका लागि रडियो कार्यक्रम चलाउने अवसर पाए। यो कार्यक्रम एन्टेना फाउन्डेसनले सहजीकरण गरेको थियो। रेडियोमा बोल्ने बानी पर्दै गएपछि उनले भविष्यमा पत्रकारिता गर्छु भन्ने सोचे।
६ वर्षसम्म रेडियो कार्यक्रम चलाएका उनले प्लस-टुपछि भने रेडियोमा काम गर्दै पढ्न सहज लागेन। उनी 'मेरो सिनेमा' अनलाइनमा काम गर्न थाले।
उत्सवलाई सानैदेखि सिने कलाकारहरूमा रूचि थियो। पत्रिकामा आएका समाचार खोजीखोजी पढ्थे।
'मलाई हिरोहिरोइनका बारे खुब पढ्न मन लाग्थ्यो। केही पत्रिकामा देख्नेबित्तिकै पढिहाल्थेँ। एक जना दाइले मेरो सिनेमा अनलाइनमा कर्मचारी चाहिएको छ, काम गर्छौ भन्नुभयो। आएको मौका किन छोड्ने र,' उनले भने।
त्यहाँ उनले एक वर्ष काम गरे। दिनहुँ कलाकारहरूसँग फोनवार्ता गर्नुपर्थ्यो। त्यही क्रममा एक दिन रेखा थापासँग कुराकानी गर्ने पालो आयो। सानैदेखि रेखाको अभिनय मनपराउने उनी पहिलोपटक रेखासँग बोल्दै थिए।
अरू कलाकारसँग कुराकानी गर्ने बानी भइसकेकाले उनलाई असहज त भएन।
'हेलो नमस्कार भन्दै कुराकानी गरेँ, उहाँ (रेखा) ले बीचमै तिमी पनि मजस्तै त हो भन्नुभयो,' उत्सवले सम्झिए, 'मैले अनि हँ दिदी के भन्नुभएको भनेँ। उहाँको कुराले मलाई अचम्म बनायो।'
खासमा यो कुराले उनलाई फेरि झस्काएको थियो, उनले आफ्नो स्वर सुरिलो भएको महसुस गरे।
'पछि मलाई सिने क्षेत्रमा काम गर्न सक्दिनँ कि जस्तो पनि लाग्थ्यो। सुरिलो स्वर, खासै राम्रो थिएन। तर आफ्नो सपनाको पछि लाग्न छाडिनँ। भिडिओमा आएँ। यसरी अहिले यहाँसम्म आइपुगेँ, अब त वर्षौं बितिसक्यो,' लामो सुस्केरा तान्दै उनी हाँसे।
रमाइलो छ कार्यक्रम चलाउँदा अनेक बाधा र मुश्किल आए पनि उनले हिम्मत हारेनन्। राम्रो गर्न सक्छु भनेरै अघि बढे। उकालो खुड्किला चढ्दै गए।
यही क्रममा एक दिन उनको भेट फेरि रेखा थापासँग भयो। यो भेटपछि भने उनीहरूको सम्बन्धले नयाँ रूप लियो। उत्सवलाई रेखासँग आफ्ना कुराहरू भन्न सहज लाग्यो। रेखा सम्बोधनले मात्र होइन, व्यवहारमा पनि दिदीजस्तै लागिन्।
एकदिन उनीहरू एउटै गाडीमा घर फर्किँदै थिए। त्यही दिन उत्सवले आफूलाई केटी नभई केटा मनपर्ने कुरा रेखालाई सुनाए।
'उहाँले कुरा बुझिहाल्नुभयो। केही प्रश्न गर्नुभएन। सामान्य कुरा हो, यो कुरा सबैलाई भन्ने समय आउँछ, तिमीले गर्वको साथ सबैलाई सुनाउने छौ भन्नुभयो,' त्यो दिन रेखाले भनेका कुरा सम्झिँदै उत्सवले भने, 'रेखा दिदीले मलाई सहज बनाउँदै केटाले केटालाई मनपराउनु सामान्य हो, कुनै ठूलो कुरा होइन भनेर सम्झाउनु पनि भयो।'
उनले थपे, 'उहाँ मेरो अभिभावक, शिक्षक हुनुहुन्थ्यो। मेरो कुरा सुन्नुभयो, सामान्य लिनुभयो। यसले मलाई धेरै सहज भयो।'
यो एक दशकभन्दा अगाडिको कुरा हो।
उत्सवलाई आज लाग्छ, त्यो दिन रेखाले असहज मानिदिएको भए सायद उनी आफ्नो बारे कहिल्यै खुलेर भन्न सक्दैन थिए।
त्यसअघि उनको मन भने कसैसँग खुलिसकेको थियो। उनी एक पुरूषलाई प्रेम गर्थे। यो उनको पहिलो प्रेम थियो। कार्यक्रममार्फत नै उनीहरू भेटिएका थिए। पहिलो भेटमै फोन नम्बर साटे। सुरूमा सन्चोबिसन्चो सोध्थे। बिस्तारै भावनात्मक सम्बन्ध बढ्दै गयो, एकअर्कालाई माया गर्न थाले। घन्टौं फोनमा कुराकानी हुन्थ्यो। यो क्रम डेढ वर्ष चल्यो।
'कुराकानी गर्दैगर्दा एकअर्काको भावना साटियो। डेढ वर्षको फोनवार्तापछि भने हामीले भेटेर यो सबै कुरा भन्ने निधो गर्यौं,' उत्सवले सुनाए, 'दुवैतिर प्रेम अंकुराएको थियो।'
उनको समूहका साथीहरूलाई पनि यो सम्बन्धबारे थाहा थियो। सबैले उनीहरूको प्रेम बुझेका थिए। तर त्यसरी सुरू भएको यो यात्रा पाँच वर्षपछि टुंगियो। माया सकिएरभन्दा पनि दूरी बढेर सहयात्रा थामिएको उनी बताउँछन्।
'कतिपय सम्बन्धहरू यस्तै हुन्छन्, सँगै बस्नुपर्छ भन्ने हुँदैन रहेछ,' उनले भने, 'अझै पनि हाम्रो समाजमा समलिंगी प्रेम जोडीलाई सामान्य मानिँदैन। तर प्रेम जोसँग पनि हुन सक्छ। केटाले केटीलाई प्रेम गरेजस्तै त हो समलिंगीको पनि।'
अहिले भने उनी आफैंलाई प्रेम गरिरहेको बताउँछन्। आफूलाई चिनेर, स्वीकार गरेर, आत्मविश्वासी भएपछि आफूलाई प्रेम गर्नुको आनन्द लिइरहेका छन् उनी।
अब उनी विगतको सम्बन्धलाई बुझ्दै अघि बढ्न चाहन्छन्।
'म को हुँ भनेर बुझ्ने मान्छे राम्रो लाग्छ। मेरो पहिचान स्वीकार गर्ने र प्रेम गर्ने मान्छे भए बिहे गर्न तयार छु,' उनले भने।
सम्बन्धमा मात्र होइन, उनी जीवनमा पनि अगाडि बढ्न मेहनत गरिरहेका छन्। पहिलेका तीता अनुभव र महसुसलाई पन्छाएर आफ्नो मन बलियो बनाइसके।
सुरूसुरूमा उनलाई आफ्नो बारेमा सामाजिक सञ्जाल र युट्युब च्यानलमा आएका नकारात्मक प्रतिक्रियाले पिरोल्थ्यो। अचेल वास्तै गर्दैनन्। प्रतिक्रिया पढ्न पनि छोडिसके। पढे पनि यसै पचाइदिन्छन्।
'मेरो जात र लैंगिकतालाई जोडेर दिने प्रतिक्रियाले म किन कमजोर हुने? म दलित भएर के भयो? म समलिंगी भएर के भयो? समलिंगी होस् वा दलित, के उनीहरू सक्षम हुन सक्दैनन् र? सबैको आ–आफ्नै विशेषता हुन्छ। मेरो अलग, तपाईंको अलग छ। त्यही त हो,' उनले भने, 'मलाई थाहा छ, मलाई केटीजस्तो, कति हाँसेको, कामीजस्तो, छक्काजस्तो भन्नेहरू यही समाजका हुन्। कुनै पनि मान्छे जात वा लैंगिकताका आधारमा बनेको हुँदैन। सबै आफ्नो क्षमताको आधारमा अघि बढेका हुन्छन्। त्यसैले क्षमता हेर्नुपर्छ। न कि उसको जात वा अरू कुरा।'
उनले थपे, 'तर अब यस्ता कमेन्ट देखेर मलाई कुनै फरक पर्दैन। म गलत छैन भने यी कुराहरूले आफूलाई किन कमजोर बनाउने? बरू अझ बलियो बनाउनुपर्छ।'
कोशीपारि काभ्रेपलाञ्चोकमा जन्मिएका उनी ठूलो परिवारमा हुर्केका हुन्। बुबाले आरनमा र आमाले खेतीबारीमा काम गरेर सन्तान हुर्काए। उत्सवका दाइभाउजू, दिदी, भाइ छन्। उनीहरूले उत्सवका बारेमा बुझेका छन्। बुबालाई भने आफूले भन्न नसकेको उनले बताए। सन्तानको चाहना र रहर अभिभावकले बुझ्दै जानुपर्ने उनी बताउँछन्।
उनका अनुसार जबसम्म राज्य सञ्चालनमा बसेकाले सबैको भावना, यौनिकता र चाहना फरक हुन्छ भने बुझ्दैनन्, तबसम्म संवेदनशील हुन सक्दैनन्। नीति-नियम बनाउनेले संसारमा महिला र पुरूषको मात्र जन्म हुँदैन, अरू मान्छेको पनि जन्म हुन्छ भनेर बुझ्नुपर्छ। अनि मात्र समाजले पनि यसलाई बुझ्दै जान्छ। समाज सबै यौनिक तथा लैंगिक भिन्नता भएकाहरूको हो।
सबभन्दा ठूलो कुरा भने आफ्नो विचार र कामबारे प्रस्ट भएर अघि बढ्दै गए सबै कुरा मिल्ने विश्वास उनको छ। त्यस्तै आफ्ना लागि बोल्न पनि पछि पर्न नहुने उनी बताउँछन्।
उत्सवले आफ्नो अगाडिको बाटो अझै सहज देखेका छन्। यो बाटोमा आउने बाधा र अप्ठ्यारा पनि सामना तयार भइसके। उनको अबको सपना भनेको आफूले गरिरहेको काम विश्वले हेरोस् भन्ने हो।
'आफूलाई आफ्नो कामले चिनाउन सकूँ, यही सपना छ,' हाँस्दै उनी भन्छन्।