उनी गजलकार, गीतकार र कलाकार हुन्। गीत पनि गाइन्। अहिले नाट्य कलाकारका रूपमा आफ्नो परिचय फराकिलो बनाएकी छन्।
उनी हुन् संगीता थापा।
गत वैशाखमा उनले 'उत्सव' नाममा गजल वाचन कार्यक्रम सुरू गरेकी छन्। उनका अनुसार दुई महिनामा एकपटक आयोजना हुने उत्सवमा एकल गजल वाचन हुन्छ।
हालै उनले 'त्रयम्' नाटकमा आफ्नो जीवन्त कला देखाइन्। यसमा उनी जेसिका नामक पात्रको भूमिकामा थिइन्। जेसिका यौन दुर्व्यवहारविरूद्ध आवाज उठाउने पात्र हुन्।
त्रयम् नाटकको एउटा दृश्यमा जेसिका आँखा रातो पार्दै रिसको आवेगमा टेबलको सबै सामान छताछुल्ल पार्छिन्। आफ्नै भिनाजुले गरेको दुर्व्यवहारविरूद्ध बोल्दा परिवारजनले गाली गरेपछि उनी रिसाउँछिन्, रून्छिन्।
जेसिकाको भूमिकामा संगीताले जीवन्त अभिनय गरेकी छन्। उनमा उत्पन्न संवेगले दर्शकमा त्यस्तो दुर्व्यवहार कसैले सहन नपरोस् भन्ने भावना उत्पन्न हुन्छ। प्रत्येक पीडितले जेसिकाले झैं विद्रोह गरून् जस्तो लाग्छ।
'अभिनयमा रून त्यतिकै आउँदैन। घटनालाई आफ्नै दुःख सम्झिन सक्नुपर्छ। कथालाई आफ्नै वास्तविक घटना हो भन्ने मान्नुपर्छ अनि मात्रै रून सकिन्छ,' संगीताले भनिन्।
निर्देशक तथा लेखक दिलीप रानाभाटले त्रयम् नाटकमा अभिनय गर्न संगीतालाई फोन गरेका थिए। उनले फोनमै सहमति जनाएकी थिइन्। दिलीपसँग पहिले पनि काम गरेकाले राम्रो हुन्छ भन्ने विश्वास थियो उनलाई। नाटक पहिले पनि हेरिसकेकाले कथा मन परेको पनि उनले बताइन्।
त्रयम् नाटक कौशी थिएटरले प्रदर्शन गर्नुअघि शिल्पीले पनि गरेको थियो। संगीताले जेसिका पात्रको भूमिका पाउने भइन्। सत्र दिनको कार्यशालापछि नाटक मञ्चन भयो।
नाटकमा कसरी आइन् त संगीता?
उनका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्मको व्यावसायिक यात्रा सजिलो थिएन। गायनबाट अघि बढेर गजल लेख्दै नाट्य कलाकार हुँदासम्ममा उनले अठोट र मेहनतको कठिन यात्रा गरेकी छन्। काठमाडौंमा नाटकमा अभिनय गर्नु उनको मुख्य धेय थियो।
अभिनयको कुरा गर्नुअघि उनको गायन र गजल लेखनबारे थोरै चर्चा गरौं।
स्कुल पढ्दा भविष्यमा के बन्न चाहन्छ्यौ भनेर सोध्नेलाई उनी गीत गाउँछु, गायिका बन्छु भन्थिन्। स्कुलका कार्यक्रममा गीत गाउँथिन्, दोहोरी पनि गाउँथिन्। नाच्न र नाटकमा अभिनय गर्न पनि मन लाग्थ्यो।
त्यो समय सम्झिँदै संगीताले भनिन्, 'म नयाँनयाँ भाका निकाल्थेँ। सधैं लोकदोहोरी प्रतिस्पर्धामा अरूलाई जित्थेँ।'
एसएलसीको समयमा उनलाई घाँटी दुख्ने समस्याले सतायो। डाक्टरले घाँटीलाई आराम दिन सुझाव दिए। संक्रमण निको भए पनि स्वर पहिलाको जस्तो राम्रो भएन।
'घाँटीको समस्याका कारण मैले स्वर गुमाएँ। जति कोशिस गर्दा पनि पहिलेजस्तो आएन,' उनले थोरै उदास भावमा भनिन्।
तर के अब यसमै दुःख मानेर बसिरहने! उनले म लेख्न सक्छु, लेखनबाट अघि बढ्छु भन्ने अठोट गरिन्।
'स्वर नभएर के भयो त म लेख्न जान्दछु नि भनेर आफैंलाई सान्त्वना दिएँ, आत्मविश्वास बढाएँ। लेख्ने प्रयास थालेँ,' उनले भनिन्।
उनी कविता र गजल लेख्न थालिन्। सुरूमा निकै गाह्रो भयो। धेरै गजल पढिन्। लेख्ने नियमहरू सिकिन्। गजल सुनाउने कार्यक्रममा जान थालिन्। लेखनसँगै वाचन पनि सिक्दै गइन्।
निरन्तरको प्रयासले उनलाई गजलकार बनायो। गजलबाटै अघि बढ्ने विश्वास पलायो। अहिले उनको जति सम्बन्ध बनेको छ, त्यो गजलबाटै बनेको उनले बताइन्।
गजल लेख्न सक्ने भएपछि वाचन गर्न अनेक ठाउँमा पुगिन्। जिल्ला भ्रमणमा निस्किन्। सबभन्दा पहिले सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगिन्। त्यसपछि अन्य जिल्लाहरूमा पुगिन्। यो यात्राले सम्बन्धको आयाम फराकिलो बनायो।
उनले शृंगारिक रसका गजलबाट लेखन सुरू गरेकी थिइन्। बिस्तारै अन्य रसमा पनि लेख्न थालिन्।
'सुरूमा प्रेमका बारे (शृंगार रस) गजल लेखेँ, वाचन गरेँ। अहिले अरू पनि लेख्छु,' संगीताले भनिन्।
गजल लेख्ने र वाचन गर्ने क्रममा सांस्कृतिक फिल्म बनाउने एक निर्देशकसँग उनको भेट भयो। ती निर्देशकले उनलाई फिल्मको अवसर दिए। उनले यसअघि अभिनय भनेको स्कुलबाट जिल्लास्तरीय नाटक प्रतियोगितामा गरेकी थिइन्। घरमा सल्लाह गरेर फिल्म खेल्ने सहमति जनाइन्।
पहिलो पटक २०७४ सालमा मगर समुदायको कथामा आधारित फिल्म 'खुर्पेटो' मा उनले छोटो भूमिका पाइन्। सुरूमा क्यामरासँग असहज भए पनि बिस्तारै अभ्यस्त भइन्। क्यामराअगाडि अभिनय गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास भयो।
यसपछि उनले 'मास्तो' (आइमाई) नामको फिल्ममा पनि काम गर्न पाइन् तर प्रदर्शन भएन। प्रदर्शन नभए पनि आत्मविश्वास बढाउने र अभिनयकला सिक्ने अवसर भएको उनले बताइन्।
यसपछि उनले 'सेनाको चेली', 'गौरव', 'फ्यामिली म्यान' लगायत करिब एक दर्जन छोटा फिल्ममा अभिनय गरिन्। छोटा फिल्म गर्ने क्रममा उनलाई रंगमञ्चमा पनि अभिनय गर्ने विचार आयो।
यसपछि नाटक हेर्ने क्रम बढ्दै गयो, अभिनयमा मोह जाग्दै गयो। उनी प्रशिक्षणका लागि नाट्य संस्था 'गुरुकुल' मा भर्ना भइन्। २०७५ को अन्तिमतिर 'लिलामे माइला' नाटकमा अभिनय गर्न पनि पाइन्। यो उनको पहिलो नाटक थियो।
'पहिलो नाटकमा मैले ६० वर्षीया लिम्बू महिलाको भूमिका गरेँ,' उनले भनिन्, 'खुब रमाइलो लाग्यो।'
यही समयतिर उनी जापान जाने तयारीमा थिइन्। जापानी भाषा सिक्दै थिइन्। अर्को नाटक 'जोखना' मा मुख्य भूमिकामा अभिनय गर्ने प्रस्ताव आयो। उनले स्वीकार गरिन्। दर्शकको प्रतिक्रियाबाट उत्साहित भइन्।
आखिर उनले जापान जाने योजना त्यागिदिइन्। नाटकमै निरन्तरता दिने निष्कर्षमा पुगिन्।
'जोखनामा अभिनय गरेपछि दर्शकको प्रतिक्रियाले मैले राम्रो गरेछु भन्ने लाग्यो। अब नाटकमै लाग्छु, विदेश जान्नँ भन्ने निर्णय गरेँ,' उनले भनिन्।
यही समय उनी एउटा टेलिभिजनमा गजलसम्बन्धी एक कार्यक्रम चलाउँथिन्। नाटकमा व्यस्त हुन थालेपछि छाडिन्। यसपछि संगीताले नाटक 'गुमफन' मा काम गरिन्। चर्चित उपन्यास 'पल्पसा क्याफे' को कथामा बनेको नाटक 'पल्पसा क्याफे' मा उनी बज्यै पात्रको भूमिकामा छिन्।
नाटकमा अवसरको ढोका फराकिलो भएसँगै उनको आत्मविश्वास बढ्दै गयो। २०७९ सालभरमा उनले एघार वटा नाटकमा अभिनय गरिन्।
'नाटकले मलाई मेहनती हुन सिकायो। अभिनयमा खारिन सिकायो,' संगीताले भनिन्।
उनले केही म्युजिक भिडिओमा पनि काम गरेकी छन्।
अहिले आएर उनलाई जापान नजाने निधो गरेर ठीक गरेँ भन्ने लाग्छ, 'विदेश गएको भए अरू केही काम हुन्थ्यो होला, आफ्नो कला देखाउन पाउने थिइनँ। अहिले यो काममा म रमाएकी छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी