सामान्यतया हलमा रिलिज भएका नेपाली फिल्म वर्षौंसम्म पनि युट्युबमा देखाइँदैन थियो। तर पहिल्लो समय भने रिलिज भएका फ्लप मात्र होइन हिट फिल्म पनि युट्युबमा देखाउन थालिएको छ। हलमा दर्शक नपाएर केही समय पनि नटिकेका फिल्मले युट्युबमा भने आक्रमक भ्युज कमाइरहेका छन्।
पछिल्लो दुई हप्तादेखि युट्युबमा नेपाली फिल्महरूले दमदारसँग प्रस्तुत दिइरहेका छन्। दुई हप्तामा युट्युबमा कबड्डी ४, फूलबारी र २.० छड्के फिल्म प्रदर्शन भइरहेका छन्। यी फिल्महरूलाई दर्शकले धेरै मन पराइरहेका छन्।
६ दिनअघि ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको थियो। सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको यो फिल्मलाई निर्माण कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलमार्फत् रिलिज गरेको थियो। यो फिल्म हलमा जेठ १३ गतेदेखि प्रदर्शन भएको थियो। फिल्मले सफलताका साथ हलमा ५१ औं दिन मनाएको थियो। चलचित्र विकास बोर्डका अनुसार फिल्मले बक्स अफिसमा २२ करोड रूपैयाँ कमाइ गरेको थियो।
फिल्मले नेपालमा मात्र नभई विदेशी बजारमा पनि राम्रो प्रदर्शन गरेको थियो। सामाजिक कथावस्तुलाई कमेडीमार्फत् प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरूना मगर, गौमाया गुरूङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरूङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरूङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरूङ र उपेन्द्र सुब्बाको लेखन छ। यो फिल्मलाई ६ दिनमा हेर्ने दर्शकको संख्या ६२ लाख पुगेको छ। नेफ्टाको उत्कृष्ट फिल्म अन्तर्गत मनोनीत भएको यो फिल्म हेरेपछि युट्युबमा ४ हजार जना दर्शकले प्रतिक्रिया दिएका छन्।
यस्तै, युट्युबमा दुई हप्ताअघि सार्वजनिक भएको फिल्म ‘फूलबारी’ लाई पनि दर्शकले धेरै मन पराएका छन्। रामबाबु गुरूङले निर्देशन गरेको यो फिल्ममा पनि अभिनेता दयाहाङ राईको अभिनय रहेको छ। यो फिल्ममा पारिवारिक असमझदारीले ल्याउने उतारचढावलाई देखाइएको छ। विपिन कार्की र अरुणा कार्की दम्पतीको भूमिकामा देखिएका छन्। अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने यो फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ। फिल्ममा प्रियंका कार्की, गौमाया गुरूङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ।
यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको यो फिल्मलाई जिटूवान डिजिटल युट्युबले च्यानलले सार्वजनिक गरेको छ। यो फिल्मलाई युट्युबमा हेर्ने दर्शकको संख्या ८२ लाख पुगिसकेको छ। जसमा ८ हजार जनाले प्रतिक्रिया दिएका छन्। यो फिल्म गत फागुन महिनामा प्रदर्शनमा आएको थियो।
जोश हेरुमले छायांकन गरेको यो फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म धेरै कमाउनेमध्ये छेटौं फिल्म हो। प्रदर्शनको क्रममा १ लाख २६ टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड ५३ लाख बढी कमाएको थियो।
यस्तै, युट्युबमा सार्वजनिक भएको अर्को फिल्म हो, ‘२.० छड्के’।
अभिनेता अनमोल केसीको यो फिल्मलाई युट्युबमा हेर्ने दर्शकको संख्या २२ लाख रहेको छ भने यो फिल्म हेरेपछि युट्युबमा प्रतिक्रिया दिनेको संख्या ३ हजार ६८६ रहेको छ। प्रदर्शनको क्रममा यो फिल्मलाई मल्टिप्लेक्स हलले कम शो दिएको थियो। फिल्म प्रदर्शन हुनुअघि नै यो फिल्ममा अनमोलको कमजोर प्रस्तुुती रहेको भन्दै सामाजिक संजालमा प्रतिक्रिया आइरहेको थियो।
यो फिल्ममा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारीलगायत कलाकारको अभिनय छ। यो फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन्। मास्को सिंह र राजेन्द्र सापकोटाले छायांकन गरेको यो फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
युवापुस्तामा रूचाइएका अनमोलको अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्। ‘होस्टेल’ बाट डेब्यू गरेका उनले यो फिल्ममा फाइटरको रूपमा देखिएका छन्।