नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले आफ्नो नयाँ सांगीतिक यात्राको सूची सार्वजनिक गरेको छ। यही नोभेम्बर १९ देखि डिसेम्बर १५ सम्म हुन गइरहेको सांगीतिक यात्राको सूची समूहले सार्वजनिक गरेको हो।
सूचीअनुसार नोभेम्बर १९ मा दार्जिलिङको खर्साङमा ‘द पाइन ट्रि फेस्टिभल’ आयोजना हुँदैछ। ब्यान्डका सदस्यहरू गायक तथा गिटारिस्ट फिरोज स्याङ्देन, गायक र ड्रमर एड्रियन प्रधान र बाँसुरीबाधक मनोज सिंह यही यात्राको लागि अमेरिकाबाट नेपाल आएका छन्।
नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोज कुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित यस यात्रामा हुनेछन्।
‘यसपालिको पहिलो टुर फिरोज र एड्रियन दाइको गाउँको छिमेक खर्साङबाट सुरू हुन लागेकाले विगतमा यात्रा गर्दाका धेरै सम्झनाहरू ताजा भएको छ’ ब्यान्डको व्यवस्थापन पनि हेरिरहेका सञ्जय श्रेष्ठले भने।
फिरोज र एड्रियनको जन्मस्थल क्रमशः तकभर दार्जिलिङ र कालिम्पोङ हो।
सन् २००८ मा अन्तिमपटक मेची पारि कन्सर्ट गर्न आएको सम्झिँदै लिड गिटारिस्ट मनोज केसीले भने ‘ब्यान्डको सुरूवाती दिनमा धेरै कन्सर्ट गरेका थियौं। यो भेगमा अन्तिमपल्ट सिक्किमको मंगनमा कन्सर्ट भएको थियो। यहाँ हामीलाई माया गर्ने धेरै श्रोताहरूले मिस गर्नुभएको छ। त्यो सम्बन्धलाई यतिबेला जोड्न पाएजस्तो लागिरहेको छ।’
बाँसुरीबाधक मनोज सिंहले पनि भारतलाई अथाह प्रेम रहेको बताउँदै भने, ‘म भारतलाई अथाह प्रेम गर्छु। मलाई यहाँ बजाउन आउँदा दोस्रो घर आएजस्तो लाग्छ।’
खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने तयारी रहेको सञ्जयले बताए।
सन् १९९४ मा झम्सिखेलबाट सुरूवात भएको १९७४ एडीले ९ वटा एल्बम निकालिसकेको छ। यसमा ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जंगी निशान’, ‘पिँजडाको सुँगा’ लगायत एल्बमका ‘सम्झी बस्छु’, ’मुटु भरिभरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँरास फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीतहरू चर्चित छन्। ती गीतबाहेक ब्यान्डले आफ्नो पछिल्लो गीतको रूपमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जातले हैन दिलले’ को पर्फर्मेन्स भर्सन पनि सार्वजनिक गरेको छ।
खर्साङको रोहिनी लेक गार्डेनमा हुन लागेको ‘पाइन ट्रि फेस्टिभल’ को यो पाचौँ संस्करण हो। संगीतसँगै यसले सांस्कृतिक पाटोलाई पनि सँगै लैजाने उद्देश्य लिएको छ। त्यसको लागि स्टेजनजिकै स्थानीय सामानहरू बिक्रीमा राख्ने गरी तीसवटा स्टल राखिएको आयोजकले जनाएका छन्।