नेपालमा सफलतापूर्वक दोस्रो सातामा प्रदर्शन भइरहेको फिल्म 'दिमाग खराब' मध्यपूर्वका देशमा प्रदर्शन भएको छ।
मंसिर १ गते शुक्रबारदेखि मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन भएको हो। तीनवटै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले जानकारी दिए।
उनका अनुसार फिल्मले दुबईमा १७ , कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ। 'नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,' उनले भने।
यो फिल्म २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदैछ।
निश्चल बस्नेतले निर्देशन गरेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत कलाकारको अभिनय छ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा रौनक विक्रम कँडेलको लगानी छ।