बहुपति प्रथामा आधारित डकुमेन्ट्री 'सहायक श्रीमान' (को-हजबेन्ड) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ।
क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिभलमा को-हजबेन्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो।
अवार्ड समारोहमा फिल्म फेस्टिभलका सहनिर्देशक युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को-हजबेन्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ।
निर्देशक पाण्डेको को-हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा अवार्ड जितिसकेको छ। बहुपति प्रथामा आधारित ३५ मिनेटको डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो।
घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले फिल्ममा देखाएका छन्। साइन मिडिया प्रालिले निर्माण गरेको फिल्मको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्।