नेपाली फिल्मका निर्माताहरूले अब फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन्।
बिहीबार हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँटमा सहमति जुटेको हो। यसअघि पहिलो र दोस्रो हप्तामा निर्माता र हल सञ्चालकमा ५० प्रतिशत सेयर बाँडफाँट हुन्थ्यो भने तेस्रो हप्तादेखि निर्माताहरूले ३५ प्रतिशत मात्र पाउँथे।
‘दिमाग खराब’ को टिमले फिल्म रिलिज भएपछि निर्माताहरूले पाउने सेयरमा असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले प्रदर्शक र निर्मातालाई बराबरी सेयर बाँडफाँट नभए आफ्नो फिल्म हलबाट उतार्ने समेत घोषणा गरेका थिए।
यस विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो। उक्त वार्तापछि निर्माता संघ र चलचित्र संघबीच बिहीबार चार बुँदे सहमति भएको हो।
सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएदेखि नै यो व्यवस्था लागू हुनेछ। यो नियम सबै स्वदेशी फिल्ममा लागू हुने बताइएको छ।