आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ।
शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन्।
महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई मन्त्रीको शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो। महिलाले निर्देशन गरेको ३ देखि १५ मिनेट लामो फिल्महरूले सहभागिता जनाएको प्रतियोगितामा अनुष्का अर्याल निर्देशित 'संकुल' प्रथम भयो। अनिता स्याङबो निर्देशित 'वर्थ', श्रेयन राजभण्डारी निर्देशित 'अक्वारियम', पुनम पौडेल निर्देशित 'लिभिङ विथ डिग्निटी' र सरिता शाह निर्देशित 'नोटबुक' ले विशेष लघु फिल्मको पुरस्कार प्राप्त गरे।
महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा फिल्म प्रदर्शन गरिएको थियो। कम्बोडियाको 'सेक्रेट किलर', ट्युनिसियाको 'द नाइट अफ द ब्लाईन्ड मुन', तान्जानियाको 'मुहाली', किर्गिस्तानको 'सागा अन ओमेन' लगायत फिल्म प्रदर्शन भएको थियो।
महोत्सवमा काठमाडौं महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए।