अभिनेता माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।
फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किनेको हो। बुधबार निर्माण कम्पनी बाँसुरी फिल्म्स र सेभेन सिज इन्टरटेनमेन्टबीच औपचारिक रूपमा लिखित सम्झौता भएको थियो।
यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्स र माओत्से फिल्म्स ब्यानरमा बनेको फिल्मले खराब श्रीमान र दयालु श्रीमतीबीचको कथा भन्ने छ। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट छन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्सले वितरण गर्नेछ।