'कबड्डी' सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी 'मैया' बनेकी अभिनेत्री रिस्मा गुरुङ अभिनेता दयाहाङ राईसँग फिल्ममा देखिने भएकी छन्।
'रिमै' बाट उनीहरूको चर्चित जोडी फेरि पर्दामा देखिन लागेको हो। गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गर्नेछन्। उनले यसअघि फिल्म 'मन्त्र' निर्देशन गरेका थिए।
फिल्ममा दया रिस्मासँगै विरबल घलेको मुख्य भूमिका रहनेछ। उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन्।
टिका गुरुङ, जित यात्री गुरुङ, सचिकुमारी घले कार्यकारी निर्माता रहेको फिल्ममा दुनबहादुर घले, हेमा गुरुङ र विजय लामा सह-निर्माताका रूपमा रहनेछन्।
यो फिल्म चैतदेखि छायांकनमा जाने निर्माण टिमले बताएका छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।