स्वरसम्राट नारायण गोपाल गुरूवाचार्यको ३३ औं स्मृति दिवसका अवसरमा तारादेवी (मरणोप्रान्त) र संगीतकार गणेश रसिक (राई) लाई सम्मान गरिएको छ।
नारायण गोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा मंगलबार आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उनीहरूलाई नारायण गोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ।
तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भुवन चन्दले ग्रहण गरेकी थिइन्। तारादेवीले तीन हजार पाँच सयबढी गीतमा स्वर दिएकी थिइन्।
विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ। कार्यक्रममा विभिन्न कलाकारले नारायण गोपालका गीतहरू प्रस्तुत गरेका थिए।