'सामूहिक अधिकार' नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९-१२ ) सम्म हुने भएको छ।
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको ११ औं संस्कारण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा हुनेछ।
महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित काठमाडौंको नेपाल पर्यटन बोर्डमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले गर्नेछन्। महोत्सवको उद्घाटन सुभांगी खड्काको वृत्तचित्र 'द एज अफ लर्निङ' प्रदर्शन गरिनेछ।
महोत्सवमा डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरू प्रदर्शन गरिनेछ। महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्कि, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मित फिल्महरू प्रदर्शन गरिनेछ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच फिल्महरूलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ। यसवर्ष महोत्सवमा 'सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकारः अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र फिल्मकर्मीहरूबीच दुईओटा प्यानल छलफल पनि राखिएको छ। साथै महोत्सवा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ।
महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ। समामपन समारोह मंसिर २६ गते पर्यटन बोर्डमा हुनेछ।