केशव पाण्डेको लेखन तथा निर्देशनमा फिल्म '११:५५' बन्ने भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रजलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहने फिल्म क्राइम थ्रिलर विधामा निर्माण हुने बताइएको छ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह-निर्माता रहनेछन्।
अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन्। 'म कथा पढ्दा अगाडि के होला भनेर जिज्ञासु बन्थे। यो फिल्ममार्फत हामी पात्रको रूपमा चिनिने छौं,' उनले भनिन्।
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए। 'मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो। नयाँ टिम देखिएता पनि फिल्मप्रतिको अध्यन र अनुभवले हामीभित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु,' उनले भने।
फिल्ममा प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ।