नविन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' को प्रदर्शन मिति घोषणा गरिएको छ।
शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसान राईलगायत कलाकारको अभिनय छ।
फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला (दया), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई) को गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।
फिल्मको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।
यो फिल्म टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो। यसपछि बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको छ।