नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण सुरू भएको छ।
शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनका लागि फिल्म प्रभावकारी माध्यम बन्ने बताए।
समारोहमा बल्दै मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले कलाका विभिन्न विधामा अध्ययन, अनुसन्धान, शिक्षा, संवाद र नितिगत पैरवीसाग सम्बन्धित अभियानहरू मावन अधिकार चलचित्र केन्द्रले आफ्नो स्थापना कालदेखि नै नियमित गर्दै आएको बताए ।
महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु देखाइनेछ।
महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ।
महोत्सवको उद्घाटनमा सुभांगी खड्काको वृत्तचित्र 'द एज अफ लर्निङ' देखाइएको थियो। गोर्खाली तक्मा ब्याण्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो।
महोत्सव मंसिर २६ सम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रहरूलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ। यसवर्ष महोत्सवमा 'सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता' र 'सामूहिका अधिकार: अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीर"बीच दुईवटा प्यानल छलफल पनि राखिएको छ। साथै महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ।
महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म 'येल्लो' प्रदर्शन हुनेछ। समामपन समारोह मंसिर २६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ।