राजन कठेत र सुनिल पाण्डेको 'नो विन्टर होलिडेज' ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ।
मंगलबार काठमाडौंमा सम्पन्न ११ औं संस्करणको 'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' मा 'नो विन्टर होलिडेज' ले उक्त अवार्ड जितेको हो। विभिन्न चलचित्र महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो।
त्यस्तै सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको 'सनाई' ले 'बेस्ट न्यारेटिभ' अवार्ड पाएको छ। उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फ नेपालका एलएसएम र सहयोगराज अधिकारीको 'यात्रा' ले पाएको छ।
उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फ स्पेनका जुलेन जुबिटको 'अ माउण्टेन अफ मेमोरिज' ले हात पारेको छ। त्यस्तै महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड 'एज अफ लर्निङ' बाट शुभांगी खड्काले पाएकी छन्।
उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको 'अन माई फादर ग्रेभ' ले पाएको छ। त्यस्तै उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म 'येल्लो' लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको 'फतिमा' लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो।
महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरू देखाइएको थियो। महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए।
नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म संचालन महोत्सवमा 'सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता' र 'सामूहिका अधिकारः अन्तर्राष्ट्रिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरूबीच दुईवटा प्यानल छलफल पनि राखिएको थियो।