दरबारको कथामा फिल्म 'राजमहल' बन्ने भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माण घोषणा गरिएको हो। सबिन कुमार तोलांगी डेब्यु निर्देशित फिल्ममा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी, सिम्रन पन्त र मिस पविलगायत कलाकारको अभिनय रहने छ।
करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरू गरिनेछ। त्यसपछि न्युजिल्यान्ड र नेपालमा फिल्मको छायांकन हुनेछ। फिल्मलाई पुरुषोत्त प्रधानले छायांकन गर्नेछन्।
ऋषि लामिछाने कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्नेछन्।