वेब सिरिज 'खेल' को शुभमुहुर्त गरिएको छ।
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो। पौराणिक र अध्यात्ममा आधारित सिरिजमा चार जना साथीहरूको कथा रहनेछ।
बलिउडका दर्जन बढी फिल्ममा सह-निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने सिरिजमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा देखिँदैछिन्। सिरिजमा उनीसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायत कलाकारको अभिनय रहनेछ। सिरिज काठमाडौं भित्र करिब एक महिना छायांकन हुनेछ।
यो सिरिज ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारण गर्ने तयारी छ। नेटफ्लिक्सकै मापदण्डमा रही पाँच एपिसोडमा बनाउन लागेको निर्देशक प्रधानले बताएका छन्। सिरिजको लागि क्यामेरा लेन्स सहित केही सामग्रीहरू भारतबाट ल्याइएको छ। सिरिजलाई रोशन राईले खिच्नेछन्।
अभिनेत्री सुरक्षा पन्तले फिल्म तथा सिरिज हलमा मात्र सीमित हुन नहुने बताइन्।
'अध्ययनको लागि काठमाडौंको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो। चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दैछु। कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ,' उनले भनिन्।
सिरुपाते कट्स प्रालिले निर्माण गर्ने सिरिजका निर्माताहरू आशिष राज महर्जन र लुइशराज महर्जन हुन् भने सह-निर्माता कुनाल गुरुङ हुन्। निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन्।
सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह-निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन्।