लोकप्रिय रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन– ३ का विजेता सुनिल खड्काले जिम्मेवारी बढेको महसुस भएको बताएका छन्।
शनिबार बेलुका भएको फिनालेमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेसँगै सञ्चारकर्मीसँगको कुराकानीमा सुनिलले उक्त कुरा बताएका हुन्।
उनले विजेता हुन्छु भनेर यात्रा सुरू नगरेको तर हरेक राउण्डमा राम्रो गर्ने प्रयास गरेको उनको भनाइ थियो।
'हरेक राउण्डमा राम्रो गरौं भन्ने हुन्थ्यो। प्रयास गर्दा गर्दै, हसाउँदा हसाउँदै फिनालेमा आइयो। त्यसपछि सबै दर्शकको मत, सहयोगले विजेता बनाउनुभयो। सबैलाई धन्यवाद दिन चाहन्छु,' सुनिलले भने।
फिनालेमा अब्बल प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुँदै गर्दा आफूलाई डर लागेको समेत सुनिलले बताए।
'सुयशा बहिनी, ऋषभ दाइ दुवैजना अब्बल हुनुहुन्छ। दर्शकले रूचाएका तीन जना फिनालेमा पुग्दा ढुकढुक भएको थियो,' उनले भने।
सुनिलले ऋषभ र सुयशाको कन्टेन्ट र मेहनतले आफूलाई पनि मेहनत गर्न हौसला मिलेको बताए। 'उहाँहरूको कन्टेन्ट, उहाँहरूको मेहनतले गर्दा मलाई अझ धेरै मेहनत गर्न हौसला मिलेको हो। म एक्लै भइदिएको भए आफैले आफैलाई हेप्थेँ होला। मलाई त्यो मौका उहाँहरूले कहिल्यै दिनुभएन,' सुनिलले भने, 'उहाँहरूको कन्टेन्ट हेर्दा मलाई डर लाग्थ्यो। कतै मेरो प्रस्तुति खस्किने हो कि? मान्छे नहाँस्ने हो कि लाग्थ्यो। उहाँहरूले नै मलाई यति माझिदिनुभयो।'
आफ्नो यात्रा भर्खर सुरू भएको र धेरै हसाउन बाँकी रहेको उनको भनाइ छ।
सुनिल काठमाडौं दक्षिणकालीका हुन्। उनी थिएटरमा काम गर्दागर्दै कमेडी च्याम्पियनको यात्रामा होमिएका थिए। आउँदा दिनमा थिएटर अभिनय र कमेडीको यात्रालाई संगसंगै अगाडि बढाउने पनि उनले बताए।
सुनिलले च्याम्पियन बनेसँगै नगद २५ लाख रूपैयाँ र ४० लाख रूपैयाँ बराबरको विद्युतीय गाडी जितेका छन्।
ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर–अप बनेकी छन्।
'कमेडी च्याम्पियन' मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए। रीमा विश्वकर्मा होस्ट थिइन्।