नेपालमा राम्रो व्यापार गरेको फिल्म 'पुजार सार्की' हङकङमा प्रदर्शन गरिएको छ।
आइतबार गरिएको प्रदर्शनमा अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित लेखक विकास सुवेदी समेत सहभागी थिए। त्यहाँको अत्याधुनिक हलमा प्रदर्शन गरिएको फिल्मले व्यापारमा नयाँ रेकर्ड राखेको लेखक सुवेदीले बताए।
दुईवटा स्क्रिनमा फिल्म प्रदर्शन भएकोमा दुईवटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भएको उनको भनाइ छ। 'राम्रो नेपाली फिल्म रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,' सुवेदीले भने।
उनका अनुसार ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए। हङकङको लागि बिरेन थापा ‘बिरे’ ले यो फिल्मको प्रदर्शन अधिकार लिएका छन्।
दिनेश राउतको निर्देशन रहेको फिल्म 'पुजार सार्की' गत जेठ १० गते रिलिज भएको थियो।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका छ।