अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको फिल्म 'ह्रस्व दीर्घ' को छायांकनका लागि भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपाल आएका छन्।
काठमाडौंमा उनीहरूको दृश्यको छायांकन भइरहेको अभिनेत्री एवं निर्मात्री नीताले बताइन्।
चन्द्र पन्तको डेब्यू निर्देशनमा निर्माण भइरहेको फिल्मको सोमबार बिहान ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरू गरिएको थियो।
अबको ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए। उनका अनुसार यो फिल्मको अन्तिम सेड्युल हो।
यो छायांकन सकेपछि पूर्ण रूपमा फिल्मको प्रचार-प्रसार तथा पोस्ट प्रोडक्सनको काममा लाग्ने निर्देशक पन्तले बताए। फिल्मको टिमले सोमबार बेलुका छायांकन स्थलमा पत्रकार भेटघाट कार्यक्रमको समेत आयोजना गरेको थियो। जहाँ भारतीय अभिनेता प्रदीप र सुनीलले मिडियाकर्मीसँग अन्तर्क्रिया समेत गरेका थिए।
बलिउड फिल्म 'गजनी' भिलेन प्रदीपले आफूले 'ह्रस्व दीर्घ' मा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए।
यसअघि भोजपुरी फिल्म 'माही' मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको बताए। यस्तै दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का भिलेनले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताए। फिल्म नेपाली फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने पुलको काम गर्ने विश्वास रहेको उनले बताए।
नीता फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलसहित ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुने जनाइएको छ।
फिल्मलाई आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारी छ।