राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म 'नम्बरी सुन' को प्रदर्शन मिति फेरि हेरफेर गरिएको छ।
पटक–पटक प्रदर्शन मिति सरेको फिल्मलाई यसअघि भदौ १ गते रिलिज गर्ने तय गरिएको थियो। फिल्मलाई अब एक साता अगाडि साउन २५ देखि प्रदर्शनमा ल्याइने भएको निर्माण टिमले जनाएको छ।
फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिइएको हो।
नारायण खातीको प्रस्तुति रहेको यो फिल्ममा गौरव, नम्रता र विनोदसहित सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, गीता अधिकारीलगायत कलाकारको अभिनय छ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन्।
दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछानेको नृत्य निर्देशक रहेको फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका हुन्। फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।
राजु गिरीको निर्देशन रहेको अर्को फिल्म 'ईश्वर' पनि साउनमै प्रदर्शनमा आउँदैछ।